पूर्वउपराष्ट्रपति पुन लक्षित किरातीको मतः १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौं



धुम्बाराहीमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी छ। आइतबार दिउँसोदेखि सुरू बैठक सोमबार पनि चलिरहेको छ। केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्। सोमबार पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुदन किरातीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा फर्किंदा गलत सन्देश गएको बताए।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको लहरमा बसेका छन्। उनलाई उपाध्यक्ष बनाउन माओवादीका पदाधिकारी सहमत भइसकेका छन् तर केन्द्रीय कमिटीबाट निर्णय भइसकेको छैन।

‘पूर्वउपराष्ट्रपति राजनीतिमा आउने कुराले राम्रो सन्देश गएन, १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौं,’ किरातीले केन्द्रीय कमिटी बैठकमा भने।

पूर्वउपराष्ट्रपति पुन माओवादीको केन्द्रीय कमिटी बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी छन्।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार