नयाँ सरकारका लागि आजै दाबी पेश गर्ने कांग्रेस-एमालेको तयारी, प्रकाशमान र विष्णु मन्त्री पक्का



deuba oli

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु आजै नयाँ सरकार गठन प्रक्रियालाई अगाडि बढान लागि परेका छन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत माग्ने क्रम सकिए लगतै दुई तिहाई सांसदको हस्ताक्षरसहित शीतल निवास जाने तयारी छ ।

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमै नयाँ सरकार गठन गर्ने सहमति भएको थियो ।

दुई ठूला दल कांग्रेस (८८) र एमाले (७९) मिल्नासाथ १६७ हुन्छ, जुन बहुमत (१३८) भन्दा बढी हो । जसपा (७), जनमत (६), जसपा नेपाल (५), लोसपा (४), नाउपा (४) नयाँ गठबन्धनको पक्षमा देखिएकाले दुई तिहाई कट्ने देखिन्छ ।

संसदमा मत विभाजन भए लगतै दुई तिहाई सांसदको समर्थन लिएर शीतल निवास जाने तयारी छ ।

त्यसका लागि कांग्रेस र एमालेले आ आफ्ना दलका सांसदहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । साना दलहरुको समेत समर्थन जुटाएर शीतल निवास जाने तयारी छ ।

राष्ट्रपतिले आह्वान गर्नासाथ जाने कि त्यसभन्दा अगाडि नै भन्ने छलफलमै रहेको एक नेताले बताए । एमालेका कतिपय नेताहरुले नयाँ सरकार गठन गर्न प्रष्ट बहुमत आफूहरुसँग भएकाले राष्ट्रपति लामो प्रक्रियामा गइरहन आवश्यक नपर्ने बताएका छन् ।

स्रोतका अनुसार, नयाँ सरकार चाँडो बनाउने योजना अन्तर्गत देउवा र ओलीले दुई उपप्रधानमन्त्रीको टुंगो लगाइसकेका छन् ।

सहमति बमोजिम अर्थ मन्त्रालय पाउने एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पठाउने तयारी गरेको छ । ‘अनुभवी मन्त्री पठाउने भन्ने मानक बनाएपछि हाम्रो पार्टीभित्र अर्थ मन्त्रालय चलाउन विष्णु पौडेल निर्विकल्प हुनुभयो’, एमालेका एक पदाधिकारीले भने, ‘कांग्रेसबाट शेरबहादुर देउवाले प्रकाशमान सिंहलाई सरकारको नेतृत्व गरेर पठाउने भनेपछि विष्णु पौडेल पक्का हुनुभयो ।’

नयाँ सरकार गठन प्रक्रिया चाँडो टुंग्याउनकै लागि उपप्रधानमन्त्रीहरुको टुंगो लगाइएको नेताहरु बताउँछन् ।

ओली नेतृत्वको सरकारमा जनमत पार्टी, जसपा, लोसपा र नाउपा सहभागी हुने पक्का भइसकेको छ । सिके राउत नेतृत्वको जनमत र अशोक राई नेतृत्वको जसपालाई ओली आफैंले सरकारमा सहभागी गराउन चाहेका थिए । लोसपा र नाउपालाई देउवाले सहभागी गराउँदैछन् ।

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार