रास्वपाले राजदूत बन्न छान्यो सात जना



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुला आह्वानमार्फत् राजदूत बन्न सात जनाको नाम तय गरेको छ।

रास्वपाले राजदूतहरुको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत् आह्वान गरेकामा २४० जनाको आवेदन परेको थियो। त्यसमध्येबाट सात जनाको समावेशी सूची तयार पारिएको सांसद शिशिर खनालले जानकारी दिए।

अन्तिम सूचीमा रहेका व्यक्तित्वहरूसँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम तय गर्न सभापति लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको उनले बताए।

केही दिनअघि नेकपा (एमाले) को कोटाबाट पाँच जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट दुई जना र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन्। रास्वपाले आफ्नो भागमा परेको दुई जना राजदूत छान्न सार्वजनिक आह्वान गरेर सुझाव मागेको हो।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार