ललितपुर । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेकाे महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङद्वारा वडावसीहरुलाई कफीका बिरुवा वितरण गरेकाे छ। यही असार १३ गते विहिबार यहाँ वडा कार्यालयले स्थानीयहरुलाई भेला गरेर कफीका बिरुवा वितरण गरेकाे वडा अध्यक्ष विनाेद चाैरेलले जानकारी गराउनुभयाे ।
वडाबासीलाई आत्मनिर्भर बनाउन र स्थानीय उत्पादन बृद्धि गर्ने उद्देश्यले जिल्ला कफी व्यवसायी संघसंगकाे समन्वयमा वडाका १ सय ५५ परिवारलाई कफीका बिरुवा वितरण गरिएको उहाँले जानकारी गराउनुभयाे ।

बिरुवा वितरण पश्चात् मन्तव्य राख्नुहुँदै गाउँपालिका उपाध्यक्ष डाेल्मामायाँ गाेलेले वडा कार्यालयबाट भएको याे कार्यले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण सहयाेग मिल्ने बताउनुभयो ।
“वडावासीलाई आर्थिक रुपमा सबल बनाउनका लागि याे ठूलाे काम हाे, यसबाट स्थानीय उत्पादन वृद्धि गर्न सहयाेग पुग्नेछ, आम्दानीमा वृद्धि हुनेछ, रोजगारीको अवसर समेत सिर्जना गर्ने विश्वास छ।यस कदमले महाँकाल गाउँपालिकाकाे कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने मेराे विश्वास छ।” उपाध्यक्ष गाेलेले भन्नुभयो ।
“हामीले विरुवा वितरणका लागि वडा कार्यालयबाट १ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो, साेही रकमबाट विहिबार कफीका ४६ सय वटा विरुवा वितरण गरिएको हाे, आगामी असार १७ गते लिचिका १ हजार वटा बिरुवा वितरण गर्ने कार्यक्रम रहेकाे छ। हामी हाम्रो समुदायलाई आत्मनिर्भर बनाउन प्रयासरत छौं। कफी खेतीले वडाबासीलाई आर्थिक रुपमा सबल बनाउनेछ।” उहाँले जानकारी गराउनुभयाे ।





