
काठमाडौं, ३० बैशाख । भारतसंग पछिल्लो समय चर्कदो सीमा विवादलाई लिएर सरकारका मन्त्रीहरुले नै जथाभावी टिप्पणी गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई सचेत गराउनु भएको छ । आज बसेको मन्त्रिपरिषद् वैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सीमाबाट आफुखुसी टिप्पणी गरेर नहिड्न निर्देशन दिनु भएको बताइएको छ । उहाँले सीमाबारे मन्त्रीहरुबाट सार्वजनिकरुपमा आएको टिकाटिप्पणीप्रति असन्तुष्टि प्रकट गर्दै हाल देखिएको सीमा विवाद कुटनीतिक तवरबाट हल गरिने बताउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले कुटनीतिक रुपमा नै सीमा समस्या हल हुने विश्वास पनि मन्त्रीहरुलाई दिलाउनु भएको बताइएको छ । लिपुलेकमा भारतले नेपालको सीमा मिचेर सडक निर्माण गरेपछि संघीय संसदको बिभिन्न समिति र सार्वजनिकरुपमा मन्त्रीहरुले बिभिन्न धारणाहरु राख्दै आएका छन् ।
काठमाडौंको लकडाउनप्रति चर्को असन्तुष्टि
यसैबीच प्रधानमन्त्री ओलीले काठमाडौंमा लकडाउनको अवस्थालाई लिएर सरोकारवाला मन्त्रीहरुसंग चर्को असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँले काठमाडौंवासीलाई सकस परेको नाममा खुलाइएको गतिविधि सैह्य नभएको प्रष्ट पार्दै मानिसको स्वास्थ्य भन्दा ठूलो कुनै पनि अन्य गतिविधि नहुने बताउनुभयो । ‘आर्थिक गतिविधि चलायमान बनाउने नाममा जे भइरहेको छ, त्यो स्वीकार्य छैन । मानव स्वास्थ्यसंग खेलवाड हुने गरी भएका गतिविधिहरु स्वीकार गर्न सक्ने अवस्थाका छैनन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लकडाउनमा उदारता देखाउने हो भने समग्र काठमाडौवासीको जीवन संकटमा पर्न सक्छ ।’ उहाँले कोभिड १९ रोकथाम एवं नियन्त्रण उच्च स्तरीय समितिलाई लकडाउनमा कडाइ गर्न समेत निर्देशन दिनु भएको बताइएको छ ।