
ललितपुर | लगनखेल डाेजाेमा ३५ दिन अघिदेखि विपन्न वर्ग र दैनिक मजदुरी गरेर जिविकाेपार्जन गर्ने ६० जनाभन्दा बढिलाई खाना खुवाउँदै आएका नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकाेषाध्यक्ष मिनकृष्ण महर्जनको अभियानमा सहयोग गर्ने क्रम बढेको छ । महर्जनले व्यक्तिगत खर्चमा महालक्ष्मी मन्दिर र बटुक भैरव मन्दिर वरिपरि मागेर गुजारा गर्ने परिवारलाई खानाको व्यवस्था गरेका थिए । पछिल्लो समय महर्जनको अभियानलाई सहयोग गर्न संघसंस्था र व्यक्तिहरुले चासो देखाउँदै आएका छन । यसैबीच शनिबार महर्जनको अभियानलाई पूर्वअर्थ राज्यमन्त्री एवम् नेपाली कांग्रेसका युवा नेता उदयसमशेर राणा र नेपाली कांग्रेस ललितपुरका नेता एवम् गत निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १(क) प्रदेश सभाका उमेदवार ऋषिराम घिमिरेले सहयोग गरेका छन । नेता द्वयले पाँच दिनको लागि मासुभात खुवाउन रकम सहयोग गरेका हुन ।
यसअघि महर्जनकाे उक्त अभियानमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले १० बाेरा चामल, १ बाेरा दाल, तेल तरकारी लगायत सहयोग गरेका थिए । यस्तै महर्जनको उक्त अभियानमा नेविसंघ ललितपुरले पनि सहयोग गरेको छ । नेविसंघ ललितपुरका अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धव दाहाल, सचिव दीपक घिमिरेले १० बाेरा चामल, २ कार्टुन तेल, मसला, नुन लगायतका खाद्यान्न सहयोग गरेका हुन । त्यस्तै तरुण दल ललितपुरका सहसचिव रामकृष्ण घिमिरेले लगायतले पनि महर्जनको अभियानलाई सहयोग गरेका छन ।
यस्तै महर्जनको अभियानमा १३ औं सागमा स्वर्ण पदक विजेता विप्लवलाल श्रेष्ठ, करातेका अन्तर्राष्ट्रिय खेलाडी मुकुन्द महर्जन, खेलाडी सराेज महर्जन, विनोद महर्जन र कराते प्रशिक्षक ध्रुव खनाल लगायतले सहयोग गरेका छन ।