जता सत्ता उतै रवि लामिछाने



काठमाडौं । आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नुमा मूलतः दुई कारण देखाएको छ– राजनीतिक स्थीरता र आफ्नो पार्टीले उठाएको एजेण्डा कार्यान्वयन ।

दुवै एजेण्डा अहिलेकै सत्ता गठबन्धनबाट संभव भएकाले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको रास्वपाका नेताहरु बताउँछन् । ‘समर्थन फिर्ता लिएकै छैनौं । समर्थन फिर्ता लिने निर्णय नगर्ने भनेपछि विश्वासको मत दिने हो’, रास्वपाकी सांसद डा.तोसिमा कार्की भन्छिन् ।

गृह मन्त्रालय नपाएको कारण सरकारबाट हटेको रास्वपाले जता सत्ता, उतै निर्णय गरिरहेको छ । कतिसम्म भने पूर्वपञ्चहरुको पार्टी राप्रपाले जतिपनि स्वतन्त्र र तर्कपूर्ण निर्णय गर्न सकिरहेको छैन । रास्वपाजस्तै गत चुनावबाट अप्रत्यासित मत पाएका राप्रपाले १ फागुनमा सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति सरकारमै रहेर आपत्ति जनायो । राष्ट्रपति पदकै निम्ति फेरि कांग्रेससँग प्रचण्डले गठबन्धन गरेपछि १४ फागुनमा सरकारबाट बाहिरिदै राप्रपाले समर्थन फिर्ता लियो । एमाले नेतृत्वमा रहेको प्रदेश बाहेक सबैतिर राप्रपा प्रतिपक्षी दल बनेको छ ।

तर गृह मन्त्रालय नपाएकै कारण सरकारबाट बाहिरिएको रास्वपाले समर्थन कायमै राख्ने नीति लियो । राष्ट्रपतिको चुनावसम्म आइपुग्दा प्रचण्डसँगै रास्वपा कांग्रेस कित्तामा पुगेको छ । सार्वजनिक निर्णय नगरेपनि २५ फागुनको राष्ट्रपतिको चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएर रास्वपाले कित्ता प्रष्ट पारेको हो ।

उपराष्ट्रपतिमा पनि सत्ता गठबन्धनकै उम्मेदवारलाई मत दिने निर्णय गर्यो । जसपाका रामसहायप्रसाद यादव नभएर जनमत पार्टीकी ममता झालाई मत दिने निर्णय गरेको थियो । यद्यपि ममतालाई रास्वपाको मत गएको देखिएन । परिणाम हेर्दा रास्वपाको मत एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य वा जसपाका रामसहायलाई गएको अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार