सत्ता गठबन्धनप्रति ओलीको टिप्पणी- १० टाउकोका रावण महिलाको अधिकार खोस्न लागे



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धन महिलाका हक र अधिकार खोस्न लागिपरेको आरोप लगाएका छन्।

उपराष्ट्रपति निर्वाचनबारे पार्टीका सांसदहरूसँग आज भएको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ओलीले १० दलीय गठबन्धनका नेताहरू संविधानको मर्म मिच्न र महिला अधिकार खोस्न लागिपरेको टिप्पणी गरेका हुन्।

‘अहिले १० दलीय गठबन्धनका नेताहरू संविधानको मर्म मिच्न र महिलाका हक, अधिकार खोस्न लागिपरेका छन्। निर्वाचन आयोग त प्रयोग गरिसके अरू संस्थालाई पनि प्रयोग गर्न सक्छन्,’ ओलीले भने।

गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई १० दलका सांसदले मतदान गरेका थिए। त्यसतर्फ लक्षित गर्दै ओलीले १० दलीय गठबन्धन भनेका छन्।

ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला नै हुनुपर्ने संविधानको मर्म रहेको दाबी गरेका छन्। निर्वाचन आयोगले जसपा उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपतिमा उम्मेदवारी कायमै राखिदिएको थियो। एमाले र नागरिक उन्मुक्ति पार्टीले यादवविरूद्ध उजुरी दिए पनि यादवको उम्मेदवारी कायमै थियो।

यसबारे लक्षित गर्दै ओलीले १० दलीय गठबन्धनले निर्वाचन आयोग प्रयोग गरिसकेको आरोप लगाए।

‘राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला नै हुनुपर्ने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संविधानको मर्म र भावना हो,’ उनले भने, ‘यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्नुपर्ने र व्याख्या गर्ने कुरा हो।’

उनले १० दलीय गठबन्धनलाई रावणको संज्ञा दिए।

‘१० दलीय गठबन्धन, जब १० टाउको एकै ठाउँमा राखेपछि के हुन्छ? रावणको पनि थियो १० टाउको,’ उनले भने, ‘अहिलेका रावण पनि फेरि महिलाका हक र अधिकार हरण गर्न लागेको देखिन्छ।’

उनले स्थानीय तह चुनावमा चलाखीसाथ महिलाका हक र अधिकार हरण गरिएका पनि आरोप लगाए। ‘संविधान र कानूनको मर्मविपरीत हनन् गरिए। यसपटक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरूष र महिला सन्तुलन मिलाउनुपर्थ्यो,’ उनले भने।

फरक प्रसंगमा उनले कम्युनिष्ट नेता हुँ भन्नेहरूले नै राष्ट्रपति नेपाली कांग्रेसलाई बुझाएको बताए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले भने, ‘प्रचण्डले मलाई राष्ट्रपति हुनुहोस् भनेका थिए तर मैले कांग्रेसलाई बुझाइदिएँ।’

उनले चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा भोट थप गर्न पहल गर्नसमेत सांसदहरूलाई निर्देशन दिए। उनले उपराष्ट्रपति चुनावमा ह्वीप उल्लङ्घनको विषय नहुने पनि बताए। एमालेबाट उपराष्ट्रपति उम्मेदवारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य छिन्।

अध्यक्ष ओलीले मतदान गर्दा बदर नहुने गरी गर्न निर्देशनसमेत दिएका थिए।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार