रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार



नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति जुटिसकेको छ। ‘भोलि (शनिबार) बिहान कार्य सम्पादन समितिको बैठक बसेर हामी औपचारिक निर्णय गर्नेछौं,’ ती नेताले भने।

कांग्रेसमा राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबी थियो। पार्टी सभापति शेरबहादुर देउवा र अधिकांश पार्टी पदाधिकारी पौडेलको पक्षमा देखिएपछि पार्टीले उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लागेको हो।

सभापति देउवाले कांग्रेसको संसदीय दलको चुनावका बेला नै पौडेललाई राष्ट्रपतिमा उठाउने वचन दिएका थिए। त्यसपछि पौडेल संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेका थिए।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो। कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो। यी आठ दलसँग राष्ट्रपति निर्वाचित गर्न यथेष्ट मत छ।

यो निर्णयसँगै पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने पक्का भएको छ। रामवरण यादव मुलुकको पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बनेका थिए।

पौडेल देशका प्रमुख नेताहरूमध्ये सम्भवतः सबैभन्दा लामो राजनीतिक इतिहास भएका राजनीतिज्ञ हुन्। राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गरेपछि वामपन्थी विद्यार्थी राजनीतिको झुकाव छाडेर पौडेल नेपाली कांग्रेससँग जोडिएका थिए। ३० वर्षे लामो पञ्चायतका दौरान पौडेलले कांग्रेसमा बसेर अविचलित रूपमा संघर्ष गरे।

उनी २०२७ सालमा गठित नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिए। पञ्चायतको समयमा पौडेलले राजनीतिक बन्दीका रूपमा पटकपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन्।

२०४७ सालमा बहुदलको पुनर्स्थापना भएपछिको आम निर्वाचनमा उनी गृह जिल्ला तनहुँबाट निर्वाचित भएका थिए। त्यसयता २०७४ सालमा बाहेक पौडेल तनहुँबाट ६ पटक सांसद निर्वाचित भएका छन्। पौडेल प्रतिनिधि सभाको सभामुख र उपप्रधानमन्त्री रहिसकेका छन्। उनी नेपाली कांग्रेसको पूर्व उपसभापति पनि हुन्।

पाँच वर्षअघि भएको १३ औं महाधिवेशनमा पौडेल शेरबहादुर देउवासँग नेपाली कांग्रेसको सभापतिमा पराजित भएका थिए। त्यस्तै नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उनी एमालेका झलनाथ खनालसँग पराजित भएका थिए।

लामो राजनीतिक जीवनमा मुलुकको सर्वोच्च कार्यकारी पदमा पुग्न नसकेका पौडेल प्रति देशभरका कांग्रेसी नेता तथा कार्यकर्ताको सहानुभूति रहने गरेको छ। राष्ट्रपतिका रूपमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेसँगै पौडेलको लामो राजनीतिक जीवनले विश्राम लिनेछ।

पौडेलले नेपाली साहित्यमा एमए र संस्कृतमा शास्त्री गरेका छन्।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार