शुक्रबार देखी बिदेशबाट आएको कुनैपनि मोबाईल नचल्ने



सरकारले यसै साताबाट अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्नका लागि भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको छ।

गत भदौ ३० गतेबाट नेपाल दूरसञ्चार प्राधिकरणले उक्त प्रणालीको परीक्षण सुरु गरेको थियो।साथै सर्वसाधारणहरूलाई आफूले बोक्ने मोबाइल फोन उक्त प्रणालीमा सूचिकृत रहे/नरहेको यकिन गर्न समेत प्राधिकरणले ताकेता गर्दै आएको थियो।

एक सूचना जारी गर्दै दूरसञ्चार नियामक निकाय प्राधिकरणले पुस १५ गते अर्थात् आगामी शुक्रवारबाट यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने हुँदा एमडीएमएस प्रणालीमा दर्ता नभएका वा भदौ महिनाभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल फोनहरू उक्त प्रणालीमा अद्यावधिक गर्न आग्रह गरेको छ।

”नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गते देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनपत्र सहित राहदानी/नागरिकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गएर दर्ता गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ।
देशमै मोबाइल फोन खरिद गर्दा समेत उक्त फोन एमडीएमएस प्रणालीमा दर्ता भए/नभएको यकिन गर्न प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले सन् २०१८ मा यससम्बन्धी विस्तृत विनियमावली ल्याएयता यस्तो प्रयास सुरु गरेको हो।

शुक्रवारबाट के हुन्छ

नेपालमा व्यावसायिक प्रयोजनका लागि ल्याइने मोबाइल फोन आयातकर्ता वा थोक विक्रेताले नै प्राधिकरणमा दर्ता गर्ने गरेका छन्।
निजी प्रयोजनका लागि ल्याइएका फोनहरू भने दर्ता गर्नुपर्ने अवस्था थिएन।गत भदौ ३० गतेबाट प्राधिकरणले निजी प्रयोजनका लागि ल्याइने फोनको पनि दर्ता गर्न सुरु गरेको थियो।अधिकारीहरूका अनुसार मोबाइल फोन खरिद गर्दाको बिजक अनि बिजक हराएको अवस्थामा भ्रमण गरेको रेकर्डको आधारमा समेत ती फोन दर्ता गरिएको थियो।

तर आगामी शुक्रवारदेखि भने देशका दुई अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य मुख्य नाकाबाट प्रवेश गर्दा सर्वसाधारणले भन्सार कार्यालयले राखेका काउन्टरमा आफूले बोकेको मोबाइल फोन देखाउनुपर्ने अधिकारीहरू बताउँछन्।

ती काउन्टरबाट मोबाइल फोनमा कर लगाउनु पर्ने/नपर्ने यकिन गरी प्रज्ञापनपत्र जारी गरिने र त्यसकै आधारमा एमडीएमएस प्रणालीमा फोन दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ।”नेपालमा तपाईँले चलाउने मोबाइल फोनका लागि भन्सारबाट ‘क्लीअरेन्स’ लिनुपर्ने हुन्छ। आयातको प्रयोजनका लागि ल्याइने सेटलाई मात्रै निरुत्साहित गर्न खोजिएको हो,” प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले भने।

कसैले प्रज्ञापन पत्र नलिएर नाकाबाट निस्किए के हुन्छ त?

मिश्र भन्छन्: ”१५ दिनसम्म त केही गर्नु परेन। त्यो भन्दा बढी प्रयोग गर्नुपर्ने हो भने दर्ता गर्नुपर्छ।” १५ दिनभन्दा लामो समय नेपालमा बिताउने जो कोहीले एमडीएमएस प्रणालीमा आफ्नो मोबाइल फोन दर्ता गर्नुपर्ने उनले जानकारी दिए।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार