मलेसियामा मझौला र साना कम्पनीलाई न्यूनतम तलबमा लचकता
काठमाडौं : मलेसिया सरकारले पाँच जनाभन्दा कम कामदार कार्यरत मझौला तथा साना रोजगारदाताले आगामी जुलाईदेखि न्यूनतम तलब लागू गर्न पाउने छुट दिएको छ ।
मलेसियाले गत मे महिनादेखि नै मासिक तलब न्यूनतम १५ सय मलेसियन रिंगेट लागू गरेको हो । त्यसअघि कामदारको न्यूनतम मासिक तलब १२ सय रिंगेट थियो ।
कोरोना महामारी लगायतका कारण व्यापार व्यवसाय नचलेकाले घरबहाल तथा अन्य आर्थिक बोझ बढेको भन्दै साना रोजगारदाताहरुको आग्रहपछि मलेसिया सरकारले आगामी जनवरी १ देखि न्यूनतम १५ रिंगेट तलब लागू गर्न छुट दिएको थियो ।
तर साना रोजगारदाताहरुले आर्थिक संकटको समाधान नभएको भन्दै समय माग गरेपछि ६ महिना समय थप गरिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केही नेपाली कामदारहरुले पनि न्यूनतम तलब १५ सय रिंगेट नपाएको गुनासो गरिरहेका छन् । पाँच जनाभन्दा बढी कामदार भएका कम्पनीहरुले गत मे १ तारिकदेखि नै न्यूनतम तलबको नियम अनिवार्यरुपमा कार्यान्वयन गरिसकेका छन् ।





