‘सिजनल भिसा’का नाममा मलेसियामा रहेका नेपाली ठगिँदै



‘सिजनल भिसा’का नाममा मलेसियामा रहेका नेपाली ठगिँदै

काठमाडौं : वैदेशिक रोजगारका लागि मलेसिया पुगेका नेपाली कामदारहरुलाई त्यहाँबाट युरोप, अमेरिका र क्यानडालगायतका तेस्रो देश पठाइदिने भन्दै व्यापक ठगी भइरहेको पाइएको छ ।

मलेसियाबाट नै क्यानडालगायतका देशमा पठाइदिने प्रलोभनमा पारेर रकम असुलेको गुनासो मलेसियास्थित नेपाली दूतावासमा आउने क्रम बढेको बुझिएको छ ।

शुक्रबार दूतावासले फेसबुक लाइभमार्फत सञ्चालन गर्दै आएको साप्ताहिक सूचना तथा जानकारी कार्यक्रममा उपस्थित दूतावासकी प्रथम सचिव यशु बस्नेतले पछिल्ला दिनहरुमा नेपाली कामदारलाई तेस्रो मुलुक पठाइदिने भन्दै रकम असुली गरेर ठगेको उजुरी आइरहेको भन्दै सचेत हुन आग्रह गरिन् ।

उनले मलेसियाबाट नेपालीहरु तेस्रो मुलुक जान सक्ने भए पनि त्यसको प्रक्रिया नेपाली कामदारहरुले स्वदेश फर्केपछि मात्रै गर्नुपर्ने सुझाव दिइन् ।

नेपालबाट दक्षिण कोरिया, बेलायत र क्यानडालगायतका देशमा ‘सिजनल भिसा’का नाममा मौसमी कामदार जान शुरुवात गरेपछि मलेसियामा ठगीको धन्दा चलाउँदै आएकाहरुले मौसमी कामदार भिसामा पठाइदिने भन्दै कम्पनीमा काम गरिरहेका नेपालीहरुलाई जागिर छाड्न उक्साउने र जागिर नै छोडाएर अलपत्र पार्ने गरिएको बताइएको छ ।

बेलायत, क्यानडा तथा दक्षिण कोरियामा मौसमी कामदारको माग बढेको छ । नेपाल भित्रै पनि केही कन्सल्ट्यान्सी र स्थानीय गाउँपालिहरुले युवाहरुलाई पठाउने भन्दै रकम उठाएपछि नेपाल सरकारले केही दिनअघि मात्रै त्यसलाई रोक्न वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेकोे थियो ।

स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाले दक्षिण कोरियालगायतका देशहरुसँग भगिनी सम्बन्ध कायम गरी आफूखुशी मौसमी कामदार पठाउने तयारी गरेपछि मन्त्रालयले वैदेशिक रोजगारमा कामदार पठाउने एकमात्र आधिकारिक निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भएको बताउँदै निर्देशिका जारी गर्नुपरेको बताएको छ ।

तर पराई भूमि मलेसियामा बसेर हुने ठगी रोक्न जनचेतना बाहेक अर्को उपाय नरहेको सरोकारवालाहरुको भनाइ छ ।साभार : मध्यान्ह दैनिक

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार