रवि लामिछाने बने रास्वपाको संसदीय दलको नेता !



काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो ।

नेता कविन्द्र बुर्लाकोटीकाअनुसार दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।

मेयर हर्क साम्पाङले माफी मागे
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले दलित समुदायसँग माफी मागेका छन् । आफूले फेसबुक पोष्टमा लेखेको शब्दका कारण दलित समुदायले नराम्रो मानेको भन्दै उनले माफी मागेका हुन् ।

‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ आइतबार एक विज्ञप्तिमार्फत उनले भनेका छन् ।

कसैलाई ठेस पुर्‍याउन नियतवश उक्त स्टाटस नलेखेको र आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको बताएका छन् ।

दलित समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाले पनि साङपाङको उक्त स्टाटसप्रति आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार