पब्जीको ‘विश्वकप’मा दुई नेपाली टोली, हारे पनि ल्याउने छन् एक करोडभन्दा बढी रकम



पब्जीको ‘विश्वकप’मा दुई नेपाली टोली, हारे पनि ल्याउने छन् एक करोडभन्दा बढी रकम

चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्।

आउँदो ज्यानुअरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्।चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम चालिस लाख अमेरिकी डलर घोषणा गरिएको छ।

उक्त रकम अन्तिम चरणमा पुगेका १६ वटै टोलीलाई उनीहरूले प्राप्त गरेको अङ्कका आधारमा भाग लगाइने छ।त्यसमध्ये सेमिफाइनल चरण पार गरेका नेपाली दुवै समूहले कम्तीमा पनि एक-एक करोड नेपाली रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने निश्चित भइसकेको बताइएको छ।

कसले कति रकम जित्छन्?
टीटूकेकी व्यवस्थापक सङ्गीता गुरुङका अनुसार उनको समूहले ८० हजार डलर प्राप्त गर्दैछ।त्यस्तै डीआरएसका व्यवस्थापक सङ्गीन भट्टराईका अनुसार उनको समूहले ७२ हजार डलर पाउँदैछ।“हाम्रो लक्ष्य ग्लोबल च्याम्पियन बन्ने हो। तर यदि हामी त्यहाँसम्म पुगेनौँ भने पनि हालसम्म प्राप्त प्वाइन्टको आधारमा तोकिएको रकम नेपाल भित्र्याउने पक्का छ,” भट्टराईले बीबीसीसँग भने।

अन्तिम चरणको खेलमा उनीहरूले थप्दै जाने अङ्कले पुरस्कार रकम पनि बढाउँदै लग्नेछ।उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पुगेका यी दुई टोली मात्र भने होइनन्।सुरुमा विश्वभरिका ४८ समूहको प्रतिस्पर्धा भएको थियो त्यसमा तीनवटा नेपाली टोली थिए।तर नेपालको स्काइलाइट्स गेमिङ चाहिँ बाहिरिएको छ।यद्यपि, उक्त समूहले ३३ हजार डलर बराबरको नगद पुरस्कार प्राप्त गरेको हुनसक्ने बताइएको छ।

“यो प्रतियोगितामा हरेक देशबाट जतिवटा समूह सहभागी भए पनि हुन्छ। तर उनीहरूले शृङ्खलाबद्ध रूपमा विभिन्न चरण पार गर्नुपर्छ,” भट्टराईले जानकारी दिए।उनीहरूले विश्वस्तरको प्रतिस्पर्धामा जानुअघि दक्षिण एसियाली प्रतियोगिता पार गरेका हुन्। जसमार्फत् नेपालका तीन, मङ्गोलियाका दुई र पाकिस्तानको एक टोली छनौट भएका थिए। तीमध्ये नेपालको एउटासँगै पाकिस्तानी टोली अन्तिम चरणसम्म पुगेनन्।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार