एम्बाप्पेले ह्याट्रिक गर्दापनि यसकारण हार्यो फ्रान्स ! मेस्सी नेतृत्वको अर्जेन्टिना विश्वकप च्याम्पियन बनेरै छाड्यो
अर्जेन्टिना कतार विश्वकप २०२२ को च्याम्पियन बनेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो। निर्धारित समय र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
जसमा अर्जेन्टिनाले ४-२ गोलअन्तरले जित निकालेको हो। फ्रान्सका किलियन एम्बाप्पे र रान्डल कोलो मुअनीले गोल गर्दा किंग्सले कोमन र औरेलियन चोउमेनी पेनाल्टीमा चुकेका थिए। अर्कोतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी, लिओनार्दो परेडेस, पाउल डिब्याला र गोञ्जालो मोन्टिएलले गोल गरेका थिए।
त्यसअघि खेलको पहिलो हाफमा अर्जेन्टिनालाई कप्तान लियोनल मेस्सीले अग्रता दिलाएका थिए। अर्जेन्टिनाका एन्जल डि मारियालाई फ्रेन्च डिफेन्डर डेम्बेलेले खराब ट्याकल गरेपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै मेस्सीले २३ औं मिनेटमा गोल गरेका थिए।
पहिलो हाफभर खेलमा राम्रो पकड बनाएको अर्जेन्टिनाका लागि दोस्रो गोल डी मारियाले गरे। उनले खेलको म्याक एलिस्टरको पासमा गोल गरे।
दोस्रो हाफमा फ्रान्स खेलमा पुनरागमन गर्न सफल भयो। किलियन एम्बाप्पेले ८० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे भने ८१ औं मिनेटमा दोस्रो गोल गरे। १०८ औं मिनेटमा फेरि मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
तर, यसपाला पनि किलियन एम्पाप्पेले नै ११८ मिनेटमा पनि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेर ह्याट्रिक पुरा गरे। त्यसपछिको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले जित निकाल्न सफल भयो। अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि हो।





