सिंगापुर । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने बताएको छ । आईएलओको १७ औं एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा सहभागी हुन सिंगापुर आएका कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने बताएका हुन् ।
‘नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजार नेपाली ल्याउँछौं,’ सिंगापुरमा भएको द्विपक्षीय भेटमा उपमन्त्री जोङपिलको भनाइ उद्धृत गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भने । यसअघि ईपीएसअन्तर्गत यति धेरै नेपाली एकै वर्षमा कोरियाले भर्ना गरेको थिएन ।
भेटमा उपमन्त्री जोङपिलले कोरियाले कामदार आपूर्ति गर्दै आएका १६ मुलुकमध्ये नेपालीलाई उच्च प्राथमिकता दिने गरेको बताएका सचिव अर्यालले सुनाए ।
कोरियाले सबैभन्दा बढी गत वर्ष ९ हजार कामदार लैजाने कोटा छुट्याएको थियो । ईपीएस प्रणालीअन्तर्गत हालसम्म कोरियामा ७५ हजार नेपाली कामदार पुगिसकेका छन् । जसमा ५ हजार महिला छन् । कोरिया गएकामध्ये ३ हजार नेपाली गैरकानुनी हैसियतमा बसिरहेको पनि मन्त्री जोङपिलले उल्लेख गरेका अर्यालले बताए ।





