शानदार दुई गोल गर्दै फ्रान्स फाईनलमा ! विश्वकप नै फ्रान्सले जित्ने



दोहा: सेमिफाइनलमा मोरक्कोलाई २–० गोलको नतिजामा पराजित गर्दै साविक विजेता फ्रान्स लगातार फिफा विश्वकपको फाइन्लमा पुगेको छ। चार वर्षअघि रुसमा दोस्रो पटक विश्वकप विजेता बनेको फ्रान्सले आइतबार उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने छ।

थियो हर्नान्डेजले पाचौं मिनेटमा एक्रोब्याटिक गोल गर्दै फ्रान्सलाई बुधबार राति अल बायट रंगशालामा अग्रता दिलाएका थिए। एन्टोइन ग्रिजम्यानको पासमा किलियान एम्बाप्पेले गरेको प्रहार मोरक्कोका खेलाडीलाई लागेर फर्किएको बलमा हर्नान्डेजले एक्रोब्याटिक फिनिस गरेका थिए।

विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको मोरक्कोले ६ खेलमा विपक्षी खेलाडीबाट पहिलो गोल खाएको हो। यसअघि नायिफ अग्वेर्डबाट आत्मघाती गोलमात्रै खाएको थियो।

पहिलो हाफमा १–० ले अगाडि रहेको फ्रान्सका लागि सब्स्टिच्युट खेलाडी रान्डाल कोलो डुवानीले पहिलो ‘टच’मै गोल गर्दै साविक विजेताको फाइनलमा यात्रा निश्चित गरे।

एम्बाप्पेले मोरक्कोका खेलाडीको बीचबाट दिएको पासलाई सेकेन्ड बार नजिक रहेका डुआनीले ट्याप इन गरेका थिए। फ्रान्स पछिल्लो २० वर्षमा विश्वकपको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। यसअघि १९९४ देखि ब्राजिल लगातार तीन पटक फाइनलमा पुगेको थियो।

तीमध्ये १९९८ बाहेक १९९४ र २००२ को विश्वकप ब्राजिलले जितेको थियो। सन् १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप जितेको थियो। ब्राजिलियन महान् पेलेकाे टिमले रचेको त्यो इतिहास कुनै टिमले दोहोर्याउन सकेका छैनन्।

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार