‘अर्जेन्टिनाले जितोस् भन्ने चाहन्न’ – रोनाल्डो



एजेन्सी – फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । सेमिफाइनलको अघिल्लो दिन ब्राजिलका दिग्गज फरवार्ड रोनाल्डोले आफूले अर्जेन्टिना जितोस् भन्ने नचाहेको बताए ।

जारी प्रतियोगितामा लिओनेल मेस्सी र अर्जेन्टिनालाई उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । यसबारे प्रश्न गर्दा रोनाल्डोले स्पेनिस पत्रिका मार्सासँग यसो भने, ‘म पूरै ब्राजिलले के सोच्छ भन्न सक्दिन, तर म आफ्नो धारणा भन्न सक्छु ।’

‘म पक्का यस्तै हुन्छ भन्न त सक्दिन । यदि अर्जेन्टिना जित्छ भने म मेस्सीको लागि खुसी हुन्छु । तर तपाईलाई ब्राजिल र अर्जेन्टिनाबीच लामो समयदेखि प्रतिस्पर्धा रहेको थाहा नै छ । त्यसैले अर्जेन्टिना जित्दा खुसी हुन्छु भन्न सक्दिन । अर्जेन्टिनाले जितोस् भन्ने चाहन्न ।’

‘तर फुटबल मेरो लागि प्रेम हो । म जुनुसुकै टोलीले जितेपनि रमाउनेछु ।’विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल एक आपसमा भिड्ने आँकलन गरिएको थियो ।

तर क्रोएसियाले ब्राजिललाई टाइब्रेकरमा पराजित गरेपछि उक्त खेल हुन सकेन । आजको खेलमा क्रोएसिया र अर्जेन्टिनाको विजेताले फाइनलमा फ्रान्स र मोरक्कोबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार