कोचका कारण विश्वकप जित्ने रोनाल्डोको सपना खरानी , रुदै बाहिरीए मैदानबाट
फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो । पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो ।
पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाएपनि क्रसबार बाधक बन्यो ।दोस्रो हाफको सुरुवातमै मोरक्को अग्रता दोब्बर पार्ने संघारमा पुगेको थियो । तर त्यसलाई सदुपयोग गर्न नसकेपछि पोर्चुगलले आक्रामक परिवर्तन गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गरायो ।
त्यसपछि लगातार आक्रमण बुनेको पोर्चुगल गोलरक्षक बोनोलाई बिट गर्न भने सफल भएन ।खेलको ४२ औं मिनेटमा मोरक्कोले सुरुवाती अग्रता बनाएको थियो । युसुफ एन नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।





