
काठमाडौं, १३ बैशाख । लकडाउन पुनः एक साता थप गर्न मुख्य सचिव लोकदर्शन रेग्मी रहेको कार्यदलले सिफारिस गरेको छ । कार्यदलले नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउनु पर्ने निष्कर्ष निकाल्दै समितिसमक्ष सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बिहान बसेको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।
उच्चस्तरीय समितिले बनाएको क्राइसिस म्यानेजमेन्ट कमिटी अन्तर्गतको यस कार्यदलमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरु समावेश छन् । संक्रमणको जोखिम नभएका हिमाली जिल्ला र अन्य स्थानमा लकडाउन खुकुलो बनाउने प्रस्तावमा भने कार्यदलमा छलफल भइरहेको बताइएको छ । काठमाडौं र पोखराजस्ता संक्रमणको जोखिम नदेखिएका स्थानहरुको बारेमा सोंच भइरहेको बताइएको छ । भोलि बस्ने मन्त्रिपरिषदको वैठकले वैशाख १५ गते लकडाउनको समयावधि सकिन अघि केही निर्णय लिने अपेक्षा गरिएको छ ।