ईपीएस मार्फत काेरिया जाने कामदारकाे हवाई टिकट नेपालमै छापिने



वैदेशिक रोजगार विभागको ईपीएस शाखाले नेपाली कामदारलाई कोरिया पठाउन हवाई टिकट छाप्ने तयारी गरेको छ । काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार पठाउनका लागि आवश्यक पर्ने एकतर्फी हवाई टिकट गराउने छाप्न ईपीएस शाखाले बोलपत्र आह्वान गरेको छ ।

चालु आर्थिक वर्ष वा कोभिड–१९ का कारण सिधा उडानमार्फत पठाउनुपर्ने सर्तका कामदारलाई पठाउन टिकट छपाइ गर्न लागिएको शाखाले जानकारी दिएको छ ।

सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भई रोष्टरमा रहेका दुई तिहाई व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने शाखाले जानकारी दिएको छ । २०२२ मा उत्पादनतर्फ १५ हजार नौ सय २७ जना भाषा परीक्षा उत्तीर्ण भई रोष्टरमा छन् । उनीहरूका लागि नेपालबाट सिधा उडान भर्ने गरी टिकट छाप्न बोलपत्र आह्वान गरेको शाखाले जनाएको छ ।

उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ । सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बर/जनवरी महिनामा हुनेछ । सन् २०२२ का लागि कृषितर्फ उत्तीर्ण भएका तीन हजारमध्ये आधाभन्दा बढीको रोजगार सम्झौता आइसकेको छ ।

नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणााली (ईपीएस) सम्झौता भएको थियो । कोरियन भाषा उत्तीर्ण ४० हजार नेपाली कोरियामा विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । कोरियामा ईपीएस प्रणालीबाट विदेशी कामदार भित्र्याउने सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार