गठबन्धनलाई ठेगान लगाउन एमाले एक्लै काफी : अध्यक्ष ओली



झापा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई ठेगान लगाउन एमाले एक्लै काफी रहेको बताएका छन् । राष्ट्र र राष्ट्रियताको सबालमा सदैब अडिग रहने एमाले मात्रै रहेको बताउँदै उनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुनैपनि पार्टीले छेक्न नसक्ने बताए ।

नेकपा (एमाले) झापा क्षेत्र नम्बर–४ ले बिहीबार झापाको सुरुङ्गामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत कुनैपनि पार्टीले पराजित गर्न नसक्ने भएपछि एमालेलाई रोक्नका लागि गठबन्धन गरेको आरोप लगाए । तर, गठबन्धनले एमालेलाई हराउन नसक्ने उनको दाबी छ ।

आधुनिक नेपाल निर्माणको अगुवाइ गर्ने पार्टी एमाले भएको बताउँदै अध्यक्ष ओलीले देशमा देखाउन लायक कामहरु आफ्नो पार्टीले गरेको बताए ।

‘ज्येष्ठ नागरिक सधैं देशमा थिए तर कुनै सरकारले सम्झिएको थिएन, एमालेले सम्झियो । महिनाको एक सयबाट सम्झिएको थियो आज दिनको १३३ भन्दा बढी ज्येष्ठ नागरिक भत्ता दिने गरेको छ । अहिले महिनाको ४ हजार पु¥याएको छ । अपांगता, सडक बालबालिकाको व्यवस्थापन, सडकमा पुगेका मानिसको व्यवस्थापनलगायतको थुप्रै कामहरु एमालेले गरेको छ’, उनले भने ।

नेकपा (एमाले)बाट झापा क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार एलपी शाँवा, झापा क्षेत्र नम्बर–४ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार भक्ति सिटौला, एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीलगायतले बोलेका थिए । कार्यक्रममा झापा क्षेत्र नम्बर–४ का एमाले र राप्रकाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार