वैदेशिक रोजगारीमा रहेका नेपालीरुलाई खुसीको खबर, सरकारको यस्तो घोषणा



वैदेशिक रोजगारीमा रहेका नेपालीरुलाई खुसीको खबर, सरकारको यस्तो घोषणा

अबदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक शेयर निष्कासन (आईपीओ) भर्न पाउने भएका छन् धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको छैटौँ संशोधन कार्यान्वयनमा आएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओ भर्न पाउने भएका हुन् । तर आईपीओ भर्नका लागि सम्बन्धित व्यक्तिको नाममा रेमिट्यान्स बचत खाता अनिवार्य हुनु पर्ने छ ।

यस्तै रेमिट्यान्स बचत खातामा वैदेशिक रोजगारीमै रहेर पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ आफू रोजगार रहेको देशबाट बचत गरेको हुनु पर्ने छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाट निर्देशिका संशोधन गरी यो व्यवस्था गरेको हो ।

नयाँ संशोधन अनुसार अब कम्पनीहरूले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्नुभन्दा अघि नै १५ दिनको समय तोकेर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रस्ताव आह्वान गर्नु पर्ने छ ।

आईपीओ भर्दा धितोपत्र बोर्डबाट धितोपत्र खरिद दरखास्त सङ्कलन सम्बन्धी काम गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा आफ्नो नाममा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाताबाट मात्र भुक्तानी गर्न पाइन्छ ।

वैदेशिक रोजगारीमा गएका नागरिककै लागि निष्कासित १० प्रतिशत शेयर किन्नका लागि नेपाल सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको हुनु पर्ने छ ।

विदेशमा रहेका नेपालीलाई आईपीओ भर्नका लागि बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यममार्फत नै सिआरएन नम्बर लिई आवेदन दिन सक्ने व्यवस्था गर्न सक्ने कुरा पनि शंसोधित निर्देशिकामा समेटिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिककै लागि भनेर छुट्टाइएको आईपीओ भरेकाहरूले सर्वसाधारणका लागि छुटाएको शेयरमा भने भर्न पाउने छैनन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको संशोधन कात्तिक १६ गतेदेखि लागू भइसकेको छ ।

विप्रेषण औपचारिक माध्यमबाट नेपाल पठाउन प्रेरित गर्ने उद्देश्यले आइपीओमा आरक्षणको व्यवस्था गरिएको हो । नेपालमा पछिल्लो समय विदेशी मुद्रा सञ्चिति कम हुँदै जाँदा वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि आइपीओमा आरक्षणको व्यवस्था गर्न सकियो भने औपचारिक प्रणालीबाट आउने विप्रेषण बढ्ने अनुमान गरिएको छ ।

विप्रेषणबाट प्राप्त भएको पैसा उपभोग्य वस्तुको खरिदमा मात्रै प्रयोग हुने र जताबाट आएको हो उतै जान थालेपछि सरकारले यो व्यवस्था गरिएको हो । विप्रेषणबाट प्राप्त भएको पैसा उत्पादनमूलक क्षेत्रमा प्रयोग होस् र मुलुकको अर्थतन्त्र निर्माणमा प्रयोग होस् भन्ने उद्देश्यका साथ अर्थमन्त्रालयको पहलमा बोर्डले त्यस्तो प्रबन्ध गरेको हो ।

नेपाल राष्ट्र बैंकको विवरणअनुसार चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । चालू आर्थिक वर्षको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ गरी श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक सय ७० प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार