अष्ट्रेलियाका दर्शकलाई पनि मन पर्ने ‘महापुरुष’



अष्ट्रेलियाका दर्शकलाई पनि मन पर्ने ‘महापुरुष’

काठमाडौं । फ्राइडे फिल्मअन्तर्गत प्रदर्शनमा आएको ‘महापुरूष’ले बक्सअफिसमा समेत आक्रमक सुरुवात गरेको छ । वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको फिल्मले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । फिल्म हेर्न पहिलोदिन नै दर्शक भरिभराउ देखिए । निर्माण पक्षले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रियासमेत लिएका थिए ।

‘एकै परिवारको २८ जना फिल्म हेर्न आउनु भएको रहेछ । फिल्म सकिएपछि उहाँहरूको अनुहारमा देखिएको सन्तुष्टिले हामीलाई खुसी दिएको छ । फिल्म हेर्न आउनु राम्रो हो, उहाँहरू सन्तुष्ट र खुसी हुनु झनै राम्रो’, कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । उनीसँगै हल भिजिटमा निर्देशक प्रदीप भट्टराई र कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराईली सहभागी थिएँ ।

‘हामीले उठान गरेको विषयलाई दर्शकले रूचाउनु भयो । उहाँहरूसँगै पर्दा बाहिरसम्म फिल्म आएको छ । यो हाम्रो पहिलो सफलता हो’, लेखक समेत रहेका निर्देशक प्रदीप भट्टराईले भने । हल भिजिटमा दर्शक मार्फत पाएको प्रतिक्रियाले अभिनेता आचार्य उत्साहित छन् । उनले बलिदान पश्चात यस किसिमको अभिनय गरेको प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् ।

‘दर्शकले मलाई फरक रुपमा समेत रुचाउनु भयो । बलिदान पश्चात नयाँपुस्तामा यसै फिल्म मार्फत यसकिसिमको भूमिका निर्वाह गर्न पाएँ’, अभिनेता आचार्यले भने । एउटा परिवार भित्रको चित्र फिल्मले प्रस्तुत गर्ने उनको भनाइ छ ।

फिल्मले नेपाल मात्र नभई अष्ट्रेलियामा पनि राम्रो सुरुवात गरेको छ । सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमा हलमा फिल्म हेर्न आइपुगेका अधिकाँसको आँखा रसाए । नेपालबाट अष्ट्रेलिया घुम्न आइपुगेका आफ्ना बुबाआमालाई लिएर फिल्म हेर्न आएका सुरेश भण्डारीले प्रवासमा बस्नेहरूका लागि फिल्म झनै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए ।

‘नेपाल रहेका बाआमा र हामी सपना बोकेर विदेश आएकाहरूको कथा झैँ लाग्यो । थाहा नै नपाइ आँखाबाट आसुँ झरेछन्’, अष्ट्रेलियाका सन्नी आचार्यले भने ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार