मलेसिया पाम आयल उद्योग : मेसिनले खोस्दैछ कामदारको काम



मलेसिया पाम आयल उद्योग : मेसिनले खोस्दैछ कामदारको काम

काठमाडौं : मलेसियाको पाम आयल उद्योगमा भएको यान्त्रिकीकरणले आप्रवासी कामदारको आधारमा काम गर्ने परम्परागत प्रणालीलाई विस्थापित गर्ने सम्भावना बढेको छ । मलेसियामा ठूलो मध्येको सीम डार्बी प्लान्टेशन बीएचडी (एसडीपी)ले आफ्नो पाम आयलको वृक्षरोपणका धेरैजसो कार्यहरू सफलतापूर्वक ‘मेकानाइज’ गरेसँगै जनशक्तिको भरपर्दाे विकल्प तयार भएको हो ।

उक्त कम्पनीले आगामी वर्ष सन् २०२३ को अन्त्यसम्ममा उत्पादन बाहेकका सबै गतिविधिहरूमा म्यानुअल कामदारहरूको आवश्यकता हटाउने अपेक्षा गरिएको बताएको छ । कम्पनीका प्रबन्ध निर्देशक हेल्मी ओथमान बाशाले २०२३ को अन्त्यसम्ममा एसडीपीले वृक्षरोपणमा जनशक्तिको संख्या ५५ प्रतिशतले घटाउने अपेक्षा गरेको बताए । कम्पनीले २०२४ को अन्त्यसम्ममा साढे १७ हेक्टरमा एक जना कामदारले काम गर्न सक्ने गरी यान्त्रिकीकरण गर्ने आशा राखेको पनि उनी बताउँछन् ।

हाल मलेसियामा औसत आठ हेक्टरमा एक कामदार परिचालन गर्ने गरिएको छ । हेल्मीले उन्नत यान्त्रिकीकरण, स्वचालन सञ्चालनको डिजीटलाइजेसनमार्फत वृक्षरोपणका कामलाई थप परिष्कृत र कम श्रम (जनशक्ति) लगाउने अवस्था रहेको बताएको छ ।

हाल मलेसियाको पाम आयल क्षेत्र पूर्णत विदेशी कामदारमा निर्भर छ । सन् २०२७ को अन्त्यसम्ममा मलेसियाली वृक्षरोपणको काम पूर्णरूपमा यान्त्रिकरण र स्थानीय जनशक्तिको प्रयोग गर्ने लक्ष्य राखेको पनि उक्त कम्पनीले बताएको छ । मलेसियामा ड्रोनमार्फत नर्सरीहरूमा बिरुवाहरू औषधि र रसायन स्प्रे गर्न शुरू गरिएको छ ।

पाम आयल मलेसियाको प्रमुख निर्यातको बस्तु रहेको तर प्लान्टेशन क्षेत्र पूर्णरूपमा आप्रवासी मजदुरको भरमा रहेकोले यान्त्रिकीकरण र स्थानीय जनशक्तिको प्रयोग नगरे उत्पादन लागत बढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिने मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

मध्यान्ह डेली बाट

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार