यूएईले शुरु गर्‍यो नयाँ बेरोजगारी बीमा योजना, नेपालीले पनि पाउने



यूएईले शुरु गर्‍यो नयाँ बेरोजगारी बीमा योजना, विदेशीले पनि पाउने

आबुधाबी (संयुक्त अरब इमिरेट्स) । संयुक्त अरब इमिरेट्स(यूएई) ले नयाँ बेरोजगारी बीमा योजना शुरु गरेको छ ।

बढ्दो प्रतिस्पर्धाबीच थप विदेशी प्रतिभा र लगानीलाई आकर्षित गर्नका लागि सो पहल शुरु गरिएको हो । यो योजना मेमे घोषणा गरिएको थियो । यसमा सार्वजनिक र निजी क्षेत्रका कर्मचारीहरुलाई जागिर गुमेमा तीन महीनासम्मको तलब बराबर क्षतिपूर्ति दिइनेछ ।

यो योजनामा युएईका नागरिक र विदेशी कामदारहरु दुबै योग्य हुनेछन् । सामाजिक सुरक्षा योजनाले व्यवसायिक जोखिमहरु कम गर्दै बेरोजगारीको समयमा स्थानीय र विदेशी बासिन्दा दुबैको स्थीर सभ्य जीवन सुनिश्चित गर्ने मानव संसाधन मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । विदेशबाट उत्कृष्ट विदेशी र स्वदेशी प्रतिभालाई आकर्षित गर्न सो कदम चालिएको पनि विज्ञप्तिमा बताइएको छ ।

यूएईको जनसंख्याको झन्डै ८५ प्रतिशत विदेशी छन् । साउदी अरेबियाले पनि अर्थतन्त्र खुला बनाउँदै विदेशबाट दक्ष कामदार भित्र्याउने नीति अपनाउन थालेपछि पछिल्लो समय यूएईले पनि नयाँ खालको भिसा र अन्य सामाजिक सुधारहरु लागू गरिरहेको छ । यस योजनाअन्तर्गत बेरोजगार कामदारहरुले आफ्नो अघिल्लो तलबको ६० प्रतिशतसम्म मासिक २० हजार दिराम (५ हजार ४४५ डलर) सम्म बेरोजगारी भत्ता दाबी गर्न सक्नेछन् ।

आफ्नौ कम्पनीमा काम गर्ने लगानीकर्ता, घरेलु सहयोगी, पार्ट–टाइम कामदार, १८ वर्ष मुनिका बालबालिका र सेवा निवृत्तहरु भने यो योजनाका लागि योग्य छैनन् । खाडी मुलुकहरुकतार, ओमान, कुवेत र साउदी अरबले आफ्ना नागरिकहरुलाई केही न केही स्वरुपमा बेरोजगारी टेवा दिइरहेका छन् । बहराइनले आप्रवासी कामदारहरुलाई समेत बेरोजगारी बीमा दिइरहेको छ ।

यूएईमा परम्परागत रुपमा बस्न पाउने विदेशी भनेका काम भएकाहरु मात्रै हुन् । काम नभएकाहरु ३० दिन मात्रै त्यहाँ बस्न पाउँथे । तर हालै भएका सुधारपछि भने भिसा रद्द भएको ६ महीनासम्म पनि विदेशीहरु बस्न पाउने व्यवस्था लागू भएको छ । एजेन्सी

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार