
काठमाडाैं, ९ वैशाख । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान अन्तिम प्रक्रियामा रहेका युवालाई वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले नआत्तिन आग्रह गरेको छ । उक्त शाखाले सूचनामार्फत दक्षिण कोरिया जानका लागि श्रम सम्झौतापत्रमा हस्ताक्षर नगरेका युवालाई बन्दाबन्दीपछि व्यवस्था गरिने हुँदा नआत्तिन आग्रह गरेको हो ।
यस्तै बिदामा कोरियाबाट स्वदेश फर्केका तर बन्दाबन्दीका कारण कोरिया फर्किन नपाउँदा भिसाको म्याद सकिएकाले पनि म्याद थपका लागि निवेदन दिनसक्ने जनाइएको छ । दक्षिण कोरिया सरकारले भिसाको म्याद थप गर्नुपर्नेको सूची मागेको छ । सो शाखाका प्रमुख कृष्णप्रसाद खनालले हरेक १५ दिनमा शाखाबाट सूची पठाइरहेको जानकारी दिनुभयो । साथै उहाँले यसका लागि सम्बधित व्यक्तिलाई ईपीएस शाखाको इमेलमा आफ्नो विवरण पेस गर्न आग्रह गर्नुभयो । विवरण पेस गर्दा आफ्नो मोबाइल नम्बर अनिवार्य उपलब्ध गराउन पनि शाखाले आह्वान गरेको छ ।