कोरिया पठाउने बहानामा ६२ लाख ठगी, एक जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगार विभागले सिजनल भिसामा दक्षिण कोरिया पठाउने आश्वासन दिएर दुई लाख रुपैयाँ असुल्ने एक जनालाई पक्राउ गरेकोे छ । विभाग र विभागमा खटिएको नेपाल प्रहरीको टोलीले शुक्रबार पोखरा महानगरपालिका वडा नं. १० का कृष्ण रोकालाई रङ्गेहात पक्राउ गरेकोे हो ।
रोकाले ठाकुर प्रसाद लामिछानेसहित ३१ जनाबाट जनही २ लाख रुपैयाँका दरले गैरकानूनी रूपमा रकम उठाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । रोकाले लामिछाने लगायतका युवाहरूलाई दक्षिण कोरियामा आकर्षक तलव हुने प्रलोभन देखाइ ललितपुर महानगरपालिका ३ सुमित होटल नजिकै रहेकोे सुबुरब क्याफेमा भेला गरेर रकम उठाइ रहेकोे सूचना पाएपछि छापा मारेको हो ।
पक्राउ परेका रोकालाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ बमोजिम अनुसन्धानका लागि थुनामा राखेको विभागले जनाएको छ ।विभागका अनुसार पक्राउ परेका रोकाले ३१ जनासँग २ लाख रूपैयाँका दरले ६२ लाख रूपैयाँ असुली गरिएको बताएको छ । स्थानीय तह चुनावको मुखमा केही स्थानीय निकाय कानून विपरित कोरियामा मौसमी कामदार पठाउन अग्रसर भएका थिए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐनले तय गरेको विधि, प्रक्रिया र पद्दति विपरित स्थानीय तहहरुले वैदेशिक रोजगारीका लागि मौसमी कामदार पठाउन पाउने कानूनी व्यवस्था नभएकाले स्थानीय मौसमी कामदार पठाउने अन्तिम तयारीमा रहेका स्थानीय तह पछि हटेका थिए ।
यसअघि भारतको बाटो हुँदै कोरिया पुगेका १३ जना युवा विमानस्थलमै अलपत्र भएपछि आफ्नै खर्चमा स्वदेश फर्किएका थिए ।





