फेरि पनि प्रकाशमानसँग रवीन्द्र भिड्ने पक्का, कसले मार्ला बाजी ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् ।

मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए ।

राप्रपामा समाहित भएकोले यसपटक भने मिश्र हलो चिह्नमा चुनाव लड्दैछन् । विवेकशील साझा पार्टी छोडेपछि मिश्रसहितको समूह बुधबार मात्रै राप्रपामा प्रवेश गरेको थियो । राप्रपाले मिश्रलाई तेस्रो वरीयतामा भित्र्याएको छ । उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने निर्णय राप्राले गरेको छ ।

यो पनि : आगामी निर्वाचनमा राप्रपा पहिलो शक्ति बन्नसक्छ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्नसक्ने दाबी गरेका छन् ।

मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उनको भनाइ थियो । रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टीका अगुवा नेताहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढन पनि निर्देशन दिए ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

अध्यक्ष लिङदेनले भने, ‘हामीले ठिक ढंगले अगाडि गयौं भने म फेरी पनि भन्छु–राष्ट्रिय प्रजातन्त्र पाटी आउने संसदमै पहिलो पार्टी बन्न सक्छ । हारिन्छ कि भन्ने हिन मानसिकतालाई त्यागेर अगाडि जानुप¥यो । म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेर अगाड बढन म आग्रह गर्दछु । पछाडि हट्ने होइन्, भाग्ने होइन ।’

उनले थपे, ‘म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीविहरु, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरु आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस् । हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेदवार बनाउन तयार छौं । हामी १६५ वटै प्रतिनिधिसभामा र ३३० वटै प्रदेश सभाको निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेर जान्छौं । त्यसकारण सबैलाई उच्च मनोबलका साथ अगाडि बढन आग्रह गर्दछु । विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’

अध्यक्ष लिङदेनले निर्वाचनमा हारिन्छ कि भन्ने हिन भावना त्यागेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले पार्टीमा प्रवेश गरेका रविन्द्र मिश्रलगायतका नेताहरुलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार