काठमाडौं महानगर उपप्रमुख डंगोल भन्छिन्– ठगिएको महसुस भए हटलाइन ११८० मा खबर गर्नू



दसैँ नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा आजबाट चाडपर्वलक्षित बजार अनुगमन सुरु भएको हो ।

आजै महानगरपालिकाले टुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी तथा फलफूल बजार तथा खाद्यान्न पसलहरूमा अनुगमन गरेकाे छ । उपेप्रमुख डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ । उपप्रमुख डंगोलको नेतृत्वमा आज तीनवटा समूह बजार अनुगमनमा परिचालन भएका थिए ।

उपप्रमुख डंगोलले कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु बिक्री गरिरहेको भेटिएमा हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न महानगरवासीलाई अनुरोध गरेकी छिन् । उनले चाडपर्वपछि पनि अनुगमन निरन्तर हुने बताइन् ।

‘हामी यो अनुगमनलाई दसैँअघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईंहरूले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउँछौँ र आवश्यक कारबाही प्रक्रिया अघि बढाउछौँ,’ उनले भनिन् ।

अनुगमनको क्रममा मिति गुज्रिन लागेका र अरू सामान पनि एकै ठाउँमा राखेको फेला परेको भन्दै उनले त्यस्ता सामान छुट्याएर राख्न आग्रह गरेको जानकारी दिएकी छिन् । ‘म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छौँ । हामीले अनुगमन त्यहीअनुसार गरिरहेका छौँ,’ नयाँ पत्रिकासँग उपप्रमुख डंगोलले भनिन् ।

उपप्रमुख डंगोलले अनुगमनका क्रममा केही पसलमा बिक्रीका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रस्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताइन् । ‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रस्टसँग लेखिएको सामान मात्रै बिक्री गर्न भनेका छौँ,’ उनले भनिन् ।

अनुगमनका क्रममा केही डिपार्टमेन्ट स्टोरले स्थानीय उत्पादनको सामान पनि राखेको भेटियो । ‘उहाँहरूलाई स्थानीय उत्पादन लिँदा उहाँहरूको कम्पनी दर्ता छ कि छैन ? प्यान नम्बर छ कि छैन हेरेर मात्रै लिन सुझाव दिएका छौँ,’ उनले भनिन्, ‘हामीले अनुगनका सिलसिलामा खाद्यान्नलगायतको मूल्यसूची नियमित ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । कतिपय ठाउँमा लामो सयमसम्म पनि मूल्यसूची ‘अपडेट’ गरेको देखिएन । हामी त्यस्ता पसललाई सकेसम्म

दैनिक नभए पनि दिन बिराएर अनिवार्य ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । मुख्य गरेर चाडपर्वको समयमा बढी भिडभाड हुने र उपभोक्ता ठगिने भएकाले हामीले चाडपर्वलक्षित अनुगमन सुरु गरेका छौँ ।’

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार