
काठमाडाैं, ६ वैशाख । केही दिन मृत्यु संख्या शून्य देखिएको चीनमा फेरि कोरोना भाइरस् (कोभिड-१९) बाट एकैदिन झण्डै १३ सयकाे मृत्यु भएको तथ्यांक थपिएकाे छ । याे सँगै चीनमा काेराेना कारण मृत्यु हुनेको संख्या भने ४ हजार ६३२ पुगेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार १ हजार २९० जनाको मृत्यु तथ्यांक थपिएकाे छ । चीनमा शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या ३ हजार ३४२ थियो । चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु भेटिएका हुन् ।
चीनमा संक्रमितको संख्या पनि बढेको छ । शुक्रबार मात्रै चीनमा ३२५ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै चीनमा संक्रमित हुनेको संख्या ८२ हजार ६९६ पुगेको छ । तीमध्ये ७७ हजार ९४४ जना भने पूर्णरुपमा निको भइसकेका छन् । चीनमा गत चैत २४ गते पहिलो पटक मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो । त्यसपछि चीनले कोरोना भाइरसबारे सार्वजनिक गरेकाे तथ्यांक अनुसार दैनिक ५ जनाभन्दा कमकाे मृत्यु हुने गरेकाे थियाे । चीनले आफूले काेराेविरूद्धकाे लडाइँ जित्दै आएको दाबी गर्दै आएको थियो । तर यसरी एकैदिन १२ सय ९० मृत्यु भएपछि चीनमाथि वास्तविक प्रतिवेदन आएको छैन की भन्ने आंशक बढेकाे छ ।