प्रचण्डले फेरि भने- ‘म प्रधानमन्त्री बन्दिनँ, संविधान र लाेकतन्त्रकाे रक्षा मेरो प्राथमिकता हाे’



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने रेसमा नभएको बताएका छन् । परिवर्तनका उपलब्धिहरु र संविधान जोगाउने आफ्नो प्राथमिकता रहेको बताउँदै उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको दोहोर्याएका हुन् । यसअघि पनि बेलाबेला उनले आफू प्रधानमन्त्री बन्न चाहेमा सक्ने तर त्यस रेसमा नलागेको बताउँदै आएका थिए ।

आज प्रेस सेन्टर चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म विगत केही वर्षदेखि प्रधानमन्त्रीको बन्ने रेसमा छैनँ । लोकतन्त्र र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो ।’

आफूले मुलुकमा आर्थिक समृद्धि र आर्थिक क्रान्ति ल्याउन चाहेको बताउँदै उनले यसका लागि देशमा राजनीतिक स्थायित्व हुनु आवश्यक रहेको बताए । आफू प्रधानमन्त्री बन्न चाहेको भए २०७४ कै संसदीय निर्वाचनपछि पाँचै वर्षका लागि प्रधानमन्त्री बन्नसक्ने अवस्था रहेको तर आफूले नै नचाहेको समेत बताए ।
‘अहिले पनि मलाई प्रधानमन्त्रीको अफर नभएको हैन, अवसर पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेको छु,’ प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा २/४ सिटछ बढी र कम कसले जित्यो भन्ने ठूलो कुरा होइन, संविधान नै धरापमा पर्ने हो कि भन्ने चिन्ता छ । लोकतन्त्र र संघीय शासन प्रणाली नै दुर्घटनामा पर्ने चिन्ता भइरहेको छ । यसको रक्षा गर्नु मेरो प्राथमिकता हो ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार