‘पर्याप्त रेमिट्यान्स नआए सरकार सञ्चालनमा संकट’
: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पर्याप्त मात्रामा रेमिट्यान्स नआए सरकार सञ्चालनमा संकट आउने बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका युवायुवतीले पठाएको रेमिट्यान्सले मुलुकको दैनिक खर्चमा सहज भएको भन्दै रेमिट्यान्स नआए सरकार चलाउनै गाह्रो हुने बताए ।
मन्त्री श्रेष्ठले संघीय संविधानको संरचनाअनुसारको प्रदेश संरचनाका आधारमा देश अघि बढे पनि विकास सो अनुसार नहुँदा आर्थिक अवस्था दयनीय भएको बताए । विश्वमा द्वन्द्वपछि विकास भएको उदाहरण रहे पनि नेपालमा भने आर्थिक विकासले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै उनले रेमिट्यान्स सँगै
पर्यटन, जलविद्युत्, वनजंगल र जडीबुटीको व्यापार प्रवद्र्धन गरेर अघि बढेमा देशले एक दशकको अवधिमा उच्च प्रतिफल प्राप्ति गर्ने आफ्नो ठहर रहेको मन्त्री श्रेष्ठले बताए ।





