सन्दीप लामिछानेले भने–नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका छ



बलात्कार आरोपमा उजुरी परेपछि निलम्बित अवस्थामा रहेका क्रिकेटर लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन आफ्नो पनि भूमिका रहेको बताएका छन् । तर, आफूमाथि लागेको आरोप झूटो भएको उनको जिकिर छ ।
सामाजिक सञ्जालमार्फत लामिछानेले भनेका छन्, ‘क्रिकेट प्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र

मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ । चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महशुस भएको छ।’

१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु सौभाग्यको कुरा रहेको उल्लेख गर्दै लामिछानेले आफूलाई जोडेर आएको समाचारले मानसिक रुपमा विक्षिप्त बनाएको बताएका छन् । जसका कारण गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्थामा आफू नरहेको उनको भनाइ छ ।

यी सबै कुराले आफूलाई मानसिक रुपमा असर गरेको उल्लेख गर्दै लामिछानेले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आईसोलेशनमा राखेर बसेको छु। झुट्टा जाहेरी कै

भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ । जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

उनले आफू र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने बुवा आमा, दाजु भाइ, मित्रहरु र क्रिकेटप्रेमीहरुप्रति आभारसमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार