आज संविधानको पालना नगर्ने राष्ट्रपतिले भोलि जे पनि गर्न सक्छिन् : माधव नेपाल



नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर गल्ती गरेको बताएका छन्। ‘बालुवाटार बैठकले पनि राष्ट्रपतिको कदमलाई घोर निन्दा गर्ने निर्णय गरेको छ। जनतालाई सजग हुन आह्वान गरिएको छ। तर ठीक उल्टो केपी ओलीका मान्छेले राष्ट्रपतिको समर्थमा जुलुस निकाल्दैछन् रे,’ उनले भने।

उनले केपी ओली दक्षिणपन्थी भासमा भासिएको आरोप लगाए। त्यसलै यो कदमको भर्त्सना गर्नुपर्ने उनको भनाइ छ। ‘अहिले हामीले विरोध गरेन भने, भर्त्सना गरेन भने भोलि जे पनि हुनसक्छ। भोलि अरु कुरामा पनि राष्ट्रपति मनपरी चल्न सक्नुहुन्छ। तब के गर्ने?,’ उनको प्रश्न थियो।

उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति त्यही भएर सही नभएको बताए। ‘साथीहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुहुन्छ। आज त्यस्तो भएको के हुन्थ्यो? संसदबाट प्रधानमन्त्री हुँदा त यस्तो छ। राष्ट्रपतिलाई सर्वाधिकार दिएको भए खान बस्न दिँदैनथ्यो होला। विद्या भण्डारीसँग सबै अधिकार भइदिएको भए के हुन्थ्यो होला?,’ उनको प्रश्न थियो।

उनले दुई दुई पटक संसद विघटन हुँदा पनि देशका सबै निकायले साथ दिँदा संसद पुनःस्थापना भएको स्मरण गराउँदै राष्ट्रपति कदमविरुद्ध लाग्न सबै नेपालीलाई आग्रह गरे। उनले यस्ता कदमविरुद्ध नउभिए भोलि जे पनि हुनसक्ने आँकलन गरे।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुमतिसहितको सांसद प्रस्तुत हुँदा पनि प्रधानमन्त्री केपी ओलीलाई बनाएको आरोप लगाए।

‘एकपटक हामी प्रधानमन्त्रीका लागि हस्ताक्षरसहित राष्ट्रपति कहाँ ९ बजे पुगेका थियौं। १० बजे भेट्यौं। त्यसपछि साढे ११ बजे केपी ओलीलाई बोलाएर राष्ट्रपतिले १२ बजे प्रधानमन्त्री घोषणा गर्‍यो। बहुमत केपी ओलीसँग छ भनेर घोषणा गरिदियो। बहुमतको कागज हामीले देखायौं। त्यो स्वीकार गरिएन। अनि केपी ओलीको बहुमत छ भनेर प्रधानमन्त्री घोषणा गरिदिए,’ उनले भने। राष्ट्रपतिले त्यही बेलादेखि संविधान मिच्ने काम गरेको नेपालको भनाइ छ।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार