२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने



सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् ।

सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ‘पास भएकाहरू असोजको अक्टोबर हप्तादेखि कोरिया उड्न थाल्नेछन् । अहिले भिसाको फारम भर्ने काम भइरहेको छ । त्यो सकिएपछि उडान तालिका सार्वजनिक गर्छौ र त्यही अनुसार क्रमिक रूपमा कोरिया जान पाउनुहुनेछ ।’ इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले भने ।

अहिले कोरोना महामारीका कारण २०१७ देखि २०२१ सम्म भाषा पास गरेर जान नपाएकाहरू गइरहेका छन् । त्यसका लागि असोज ३,४ र ५ गतेका लागि हवाई उडान तालिका सार्वजनिक गरेको छ । उनीहरूलाई भदौ ३१ गतेभित्र आवश्यक कागजात बुझाउन भनिएको छ ।

पुरानाहरू गइसकेपछि सन् २०२२ मा पास भएकाहरू जान पाउने निर्देशक कटुवालको भनाई छ । कोरिया जान चाहेन कामदारले अनलाइन मार्फत श्रम स्वीकृति लिनुपर्नेछ । अनलाइन दर्ता गर्दा ६ वर्षे वैदेशिक रोजगार म्यादी जीवन वीमा र कल्याणकारी कोष वापत २ हजार ५०० अनलाइनबाटै भुक्तान गर्नुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

रोजगार अनुमती प्रणाली व्यवस्थापन शुल्क वापत ४६.२० डलर समेत जम्मा गर्नुपर्नेछ । दक्षिण कोरिया पुगिसकेपछि क्वारेन्टाईन बस्नु पर्दैन । तर, कोभिड जोखिम वीमा गर्नुपर्नेछ । कामदारको सम्झौता अवधि ५ वर्षको हुनेछ । सन् २०२२ को इपीएस परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार १४२ जनाले पास गरेका छन् । भने कृषि तथा पशुपालन क्षेत्रतर्फ एक हजार १०८ जनाले पास गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

इपीएस मार्फत अहिलेसम्म ७३ हजार नेपाली कोरिया गइसकेका छन् । अहिले पनि ३३ हजार नेपाली कोरियामा कार्यरत छन् । सन् २०२२ मा नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै कामदार जान लागेका हुन् । यसअघि दुई देखि ५ हजारको हाराहारीमा जाने गरेका थिए ।

यो पटक भने झण्डै १० हजारको हाराहारी नेपाली कामदार कोरिया जान लागेका हुन । कोरियामा इपीएस मार्फत कामदार पठाउनेमा नेपाल दोस्रो स्थानमा पर्छ । अबको केही वर्षमा नेपाल धेरै कामदार पठाउनेको पहिलो नम्बरमा रहेको निर्देशक कटुवालको भनाई छ ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार