लाखौं–करोडौं मान्छेको बीचमा पनि एक्लो महसुस हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौं–करोडौं मान्छेको बीचमा पनि एक्लो महसुस हुने गरेको बताएका छन् । मंगलबार माओवादी केन्द्रका सांसद सुदन किराँतीको अनुभूति समेटिएको पुस्तक ‘पल पलको मृत्यु’ विमोचन समारोहमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले आफू प्रधानमत्री भएपनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको बताए । उनले भनेका छन्, ‘हामी मन्त्री, प्रधानमन्त्री त भयौं तर, यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको छ ।’

उनले थप भनेका छन्, ‘हिजो मानव जातिको मुक्तिको लागि सम्पूर्ण समर्पणसहित जनयुद्धमा लाग्दा पद प्रतिष्ठा र स्वार्थको लागि थिएन । मानव जातिको लागि गरेका थियौं । एक्लै जंगलमा हुँदा, पहाड उकाला ओराला, नदी–नाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौंको बीचमा सँगै हिडेको जस्तो लाग्थ्यो । तर आज लाखौं करोडौं मान्छेका बीचमा छौं तर एक्लो महसुस हुन्छ ।’

यसका साथै अध्यक्ष दाहालले सुदन किराँती मन्त्री मात्र नभई प्रधानमन्त्री र राष्ट्रपति पनि हुने सम्भावना नजिकै रहेकाबताए ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार