राष्ट्रपतीय निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा ब्राजिलमा राजनीतिक हिंसाका घटना देखिन लागेका छन् । यसको पछिल्लो उदाहरणमा ब्राजिलका उग्र–दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोका समर्थकले वामपन्थी उम्मेदवार लुइज इनासियो लुला दा सिल्भाका समर्थकलाई चक्कु हानेर मारिदिएका छन् ।
मध्य–पश्चिम राज्य मातो ग्रोसोमा दुई उम्मेदवारका समर्थकहरूबीच चलिरहेको बहस उग्र बनेर हिंसात्मक बन्यो । ब्राजिलमा बढ्दो राजनीतिक ध्रुवीकरणका बीच हुन लागेको चुनावमा बोल्सोनारोलाई लुलाले जित्ने मत सर्वेक्षणहरुले देखाएको छ । यसले गर्दा बोल्सोनाराका समर्थकहरु थप उग्र बन्दै गएका छन् ।
प्रहरीकाअनुसार २४ वर्षीय राफेल सिल्भा डे ओलिभेराले ४२ वर्षीय बेनेडिटो कार्डोसो डोस सान्तोसलाई चक्कुले हानेर हत्या गरेका थिए । संदिग्ध पक्राउ परिसकेको र उनले अपराध स्वीकार गरेको प्रहरीले बताएका छन् । ब्राजिलमा हिंसा र कु को डरका बीचमा राष्ट्रपतिको अभियान सुरु भएको छ ।
आफ्ना समर्थकमाथि भएको चक्कु प्रहारबारे बोल्ने क्रममा लुलाले ‘चुनाव प्रक्रियामा घृणाको वातावरणले यस्तो घटना भएको भन्दै यसलाई असामान्य’ बताए । एक विज्ञप्तिमा ह्युमन राइट्स वाचको अमेरिकी शाखाका निर्देशक जुआनिटा गोबर्टस एस्ट्राडाले ‘हरेक नागरिकले बिना डर आफ्नो राजनीतिक विचार व्यक्त गर्न पाउनुपर्ने’ बताउँदै सबै उम्मेदवारलाई सान्तोषको हत्याको विरोध गर्न भनेका छन् ।
जुलाईमा यस्तै हिंसामा लुलाको वर्कर्स पार्टीका एक स्थानीय पदाधिकारीलाई संघीय जेलका गार्डले गोली हानेर मारेका थिए । प्रत्यक्षदर्शीका अनुसार ती गार्डले गोली चलाउँदा बोल्सोनारोको पक्षमा नारा लगाएका थिए । गत शुक्रबार बिहान एकजना बोल्सोनारो समर्थकलाई वर्कस पार्टीका समर्थकहरुले टाउकोमा चोट लाग्ने गरी आक्रमण गरेको घटना बाहिरिएको थियो ।
लुला र उनका वामपन्थी सहयोगीविरुद्ध उग्ररुपमा प्रस्तुत हुने बोल्सोनारोले ब्राजिलको व्यापक रूपमा सम्मानित निर्वाचन प्रणालीमा माथि नै प्रश्न उठाउन थालेका छन् । बोल्सोनारोको यस भनाईलाई कतै उनले चुनावी हार नस्वीकार्ने संकेत त होइन भन्ने डर व्यक्त गरिँदैछ ।





