दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने



दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने

काठमाण्डाै – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् ।एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ ।

उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ ।यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट ३ हजार १ सय ३० र दोस्रो चरणको परीक्षाबाट ३ हजार ७ सय ८३ गरी कुल ६ हजार ९ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो ।

उत्पादनतर्फको परीक्षामा उत्तीर्ण गराउनेको सङ्ख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट ६ हजार ७ सय ५२ र दोस्रो चरणबाट ८ हजार १ सय ६१ गरी कुल १४ हजार ९ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार ९ सय र कृषितर्फ नौ हजारले फारम भरेका थिए ।उत्पादनतर्फको पहिलो चरणको परीक्षा गएको साउन २ देखि सुरु भएको थियो । दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ । पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढ्ने भएसँगै रोजगारीका लागि कोरिया जाने युवाको सङ्ख्या पनि बढ्ने बताउनुभयो । सन् २००८ देखि ईपीएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जाँदै आएका छन् ।

ईपीएसबाट अहिलेसम्म ७३ हजार नेपाली कोरिया पुगिसकेका छन् । कोरिया जानेहरुले झण्डै ५ वर्ष काम गर्न पाउँछन् । दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत विभिन्न १६ देशबाट श्रमिक लैजाँदै आएको छ । ईपीएसबाट श्रमिक लैजाने देशको सूचीमा नेपाल दोस्रो स्थानमा छ । सबैभन्दा बढी कम्बोडियाबाट श्रमिक कोरिया पुगेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार