मलेसिया र बंगलादेशबीच कामदार भर्ना सम्बन्धी सम्झौता, नेपाल आउने मागमा ठाडो असर
काठमाडौं : मलेसिया र बंगलादेशबीच गत डिसेम्बरमा सम्पन्न कामदार भर्ना सम्बन्धी सम्झौता कार्यान्वयनमा आएको छ । गतहप्ता सम्झौता अनुसारको पहिलो ब्याचका कामदार मलेसिया पुगेसँगै गतवर्षको द्विपक्षीय सम्झौता कार्यान्वयनमा आएको मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले बताए । मलेसियामा बंगलादेशका कामदार नेपाली कामदारका प्रतिस्पर्धी रूपमा रहेका छन् ।
मलेसिया र बंगलादेशबीच भएको बंगलादेशका कामदार लैजाने सम्झौता आगामी ५ वर्षसम्म कार्यान्वयन हुने मलेसियाका सञ्चार माध्यमहरूले जनाएका छन् । मलेसिया पुगेको बंगलादेशी कामदारको पहिलो ब्याचलाई मलेसियाको म्यान फ्याक्चरिङ क्षेत्रमा रोजगारी प्रदान गरिएको छ ।
मन्त्री साराभानन्का अनुसार मलेसियामा रहेको बंगलादेशको उच्चायुक्तको कार्यालयले ८० स्थानीय रोजगारदाताले पेश गरेका ६ हजार बंगलादेशी कामदारको आवेदन प्रमाणीकरण गरेकोे छ । ती कामदार पनि सकेसम्म छिटो मलेसिया पुग्नेछन् ।
बंगलादेशी कामदारहरूलाई आफ्नो कम्पनीमा काममा लगाउन चाहने रोजगारदाताहरूले अध्यागमन विभागमा शुल्क तिरेर रोजगार सम्झौता र रोजगार प्रमाणीकरण कागजातहरूसहित उच्च आयोगमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
नेपाल र मलेसियाबीच दुई वर्ष अगाडि कात्तिक १२ मा उत्साहका साथ श्रम समझदारी भएपनि धेरै ढिलोगरी नेपाली कामदार जान शुरू गरेका हुन् ।
यता नेपालले भने रोजगारदाताले नै कामदारको लागत व्यहोर्ने ‘इम्प्लाइमेन्ट पे’ मोडलमा कामदार पठाउने अडान राखेको छ । उक्त अडान अनुसार नै श्रम समझदारी बनेको छ । तर मलेसियाली रोजगारदाताले नेपालबाट कामदार लैजाँदा लागत बढेको गुनासो गरेका छन् ।
मध्यान्ह डेलीमा समाचार छ





