कतार फिफा विश्वकप आउन अब १०० दिन बाँकी
दोहा – कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब सय दिन मात्रै बाँकी छ ।फिफा विश्वकपका उत्कृष्ट अन्तर्राष्ट्रिय टोलीहरूलाई स्वागत गर्ने क्रममा कतारमा आठ अत्याधुनिक स्टेडियमहरू बनेका छन्। आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म ६४ खेलहरू हुनेछ ।
कतार सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हासन अल थावादीले कतारको राष्ट्रिय दिवसमा लुसेल स्टेडियममा फाइनल खेल हुने बताए ।यसअघि २१ नोभेम्बरदेखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच एक दिन अघि नै खेल हुने भएको छ।
एसियाबाट अहिलेसम्मकै कीर्तिमानी ६ राष्ट्रले खेल्दैछन् । कतार आयोजकको रुपमा सिधै छनोट हुँदा जापान, इरान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया छनोट चरण पार गर्दै छानिएका हुन् ।
युरोपबाट सर्वाधिक १३ राष्ट्रले विश्वकप खेल्नेछन् । जसमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसियासहित डेनमार्क, इंग्ल्याण्ड, जर्मनी, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन, स्वीट्जरल्याण्ड र वेल्स छन् ।
अफ्रिकाबाट क्यामरुन, घाना, मोरोक्को, सेनेगल र ट्युनिसिया छनोट भएका छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे तथा उत्तर तथा मध्य अमेरिकाबाट क्यानडा, मेक्सिको, अमेरिका र कोष्टारिका छानिएका छन् । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।





