आदिवासी जनजाति महासंघ युएईले अन्तर्राष्ट्रिय आदिवासी महोत्सव २०२२ मनाउने



आदिवासी जनजाति महासंघ युएईले अन्तर्राष्ट्रिय आदिवासी महोत्सव २०२२ मनाउने

युएई । नेपाल आदिवासी जनजाति महासंघ युएईले २८औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस तथा आदिवासी महोत्सव २०२२ मनाउने भएको छ । महासंघले २०२२ अगस्ट १४ मा भव्य कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय आदिवासी दिवस तथा आदिवासी महोत्सव मनाउन लागेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ युएईले हरेक वर्ष दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ । तर कोरोना महामारीका कारण विगत २ वर्षयता कार्यक्रम हुन सकेको थिएन । दुई वर्षको अन्तरालमा आयोजना गरिएको उक्त कार्यक्रम दुबई स्थित क्लभ एभरेस्टमा हुनेछ ।

नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष बिजय लक्ष्मी राईले कार्यक्रममा नेपाली आदिवासी जनजातीहरुको पुरातात्विक महत्वका स्टलहरु, भेषभूषा र सांस्कृतिक झाँकी प्रदर्शन हुने बताएकी छिन् । कार्यक्रममा प्रवासी कलाकारहरुको बेजोड प्रस्तुति साथै मिस्टर तथा मिस आदिवासी २०२२ प्रतियोगिता समेत हुने अध्यक्ष राईले प्रवास खबरलाई जानकारी दिइन् ।

उक्त कार्यक्रम मार्फत् प्रवासी कलाकारहरुले गरेको योगदानको सम्मान पनि गरिने भएको छ । प्रवासी कलाकारहरुले एक्सो २०२० मा नेपालको मौलिक संस्कृति झल्काउदै देशको शिर उच्च राख्न महत्वपुर्ण योगदान दिएका थिए । नेपाल पेवेलियनका आयोजक आई.ई.जी ग्रुपले एक्सो २०२० अवधीभर योगदान दिएका प्रवासी कलाकारहरुलाई सम्मान गर्न लागेको आई.ई.जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए ।

त्यसैगरी कार्यक्रममा कोभिड (१९) विश्व महामारीको समयमा समस्यामा परेका नेपालीहरुलाई राहत तथा उद्धार गर्न स्थानीय प्रशासनसँग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा खटिएका स्वयंसेवकहरुलाई समेत सम्मान गरिने कार्यक्रम संयोजक डम्बर लिम्बुले बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ युएईले अन्य विभिन्न दिवसको अवसरमा कार्यक्रमहरु आयोजना तथा सञ्चालन गर्दै आएको छ । प्रवास खबर बाट

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार