त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट ४८० किलो सुन बरामद



काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ७ महिनामा ४८० केजी सुन बरामद गरी राजस्वको दायरामा ल्याएको छ । विदेशबाट फर्किनेहरुले विभिन्न गरगहनाका नाममा सुनलाई सामान्य तोडमोड गरेर

ल्याएको अवस्थामा सो परिमाणको सुन बरामद गरी राजस्व असुलपछि सम्बन्धित व्यक्तिलाई प्रदान गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईका अनुसार ३ अर्ब ८० करोड रुपैयाँको सुन बरामद गरी राजस्व तिराइएको हो । यसबाट ४५ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन भएको उनले जानकारी दिए ।

राजस्वको दायरमा आएसँगै सो परिमाणको सुन औपचारिक रुपमा किनबेच गर्न सकिने र अनौपचारिक अर्थतन्त्रमा निरुत्साहित पुग्ने भन्सार कार्यालयले जनाएको छ ।कानुनत: विदेशबाट आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन सक्छन् ।

२५० ग्रामसम्म सुनको गरगहना ल्याउन पाइने व्यवस्था छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा पूर्ण रुपमा राजस्व छुट सुविधा हुन्छ । सोभन्दा बढी २ सय ग्रामसम्म भन्सार तिरेर ल्याउन पाइन्छ ।

१०० ग्रामभन्दा बढी काँचो सुन र २५० ग्रामभन्दा बढी गरगहना ल्याएमा त्यस्तो सुन र गहना जफत गरी भन्सार कानुनबमोजिम कारबाही हुन्छ ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार