साउदी अरबका युवराजलाई बाइडेनले भने– खशोग्गीको हत्यामा तपाईं जिम्मेवार हुनुहुन्छ



साउदी अरबका युवराजलाई बाइडेनले भने– खशोग्गीको हत्यामा तपाईं जिम्मेवार हुनुहुन्छ

अमेरिकी राष्ट्रपति जो बाइडेन पद सम्हाले पछिकै पहिलो साउदी अरब भ्रमणका क्रममा सो देशमा छन् । त्यहाँ उनले देशका युवराज मोहम्मद बिन सलमानलाई भेटेका छन् । भेटमा बाइडेनले सन् २०१८ मा भएको पत्रकार जमाल खशोग्गीको हत्याको विषय उठाए ।

‘मैले युवराजसँगको भेटवार्तामा जमाल खशोग्गीको हत्याको मुद्दा उठाएँ । यसमा मेरो विचार के छ त्यसमा छलफल गर्न जरुरी थियो । मैले क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भने कि खशोग्गीको हत्याको लागि तपाईं जिम्मेवार हुनुहुन्छ ।’

भेटमा बाइडेनले मानवअधिकार र राजनीतिक सुधारका विषयमा पनि छलफल गरेका थिए । बाइडेनको भनाइमा युवराजले ‘पत्रकार जमाल खशोग्गीको हत्यामा म व्यक्तिगत रूपमा जिम्मेवार छैन । यो हत्यामा संलग्नलाई कारबाही गर्छौं’ भनेको बताइएको छ । तथापि सीएनएनले उसको स्रोतलाई उल्लेख गर्दै बाइडेनले खशोग्गीको हत्याको कुरा उठाएपछि वार्ता तनावपूर्ण बनेको लेखेको छ ।

गत वर्ष सार्वजनिक एक अमेरिकी रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्या गर्ने योजनालाई युवराले व्यक्तिगत रुपमा स्वीकृति दिएको दाबी गरेको थियो ।
ट्रम्प सत्तामा रहँदा साउदी राजकुमारसँग उनको घनिष्ठ सम्बन्ध थियो । यही कारणले खशोग्गीको हत्यासँग सम्बन्धित अमेरिकी गुप्तचर रिपोर्टहरू उनले सार्वजनिक गरेनन् ।

बाइडेन राष्ट्रपति बने र मानवअधिकारका मुद्दामा अडिग बाइडेनले सो प्रतिवेदन जारी गरिदिए । यस गुप्तचर रिपोर्टमा खशोग्गीको हत्यामा युवराज सलमान प्रत्यक्ष रूपमा संलग्न रहेको दावी गरिएको छ । वासिङ्टन पोस्टका पत्रकार जमाल खगोसीको टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा जाँदा २ अक्टोबर २०१८ मा हत्या भएको थियो ।

अमेरिका–साउदी सम्बन्ध बिग्रन सक्छ
खशोग्गी हत्या प्रकरणमा बाइडेन प्रशासनले युवराज सलमानलाई दोषी ठहर गरेमा मध्य–पूर्वको सबैभन्दा शक्तिशाली र धनी राष्ट्रसँग अमेरिकाको सम्बन्ध बिग्रिने सम्भावना रहन्छ । खसोग्गीको हत्यामा युवराजको संलग्नता देखिने रिपोर्ट आएकाले बाइडेनले पद सम्हालेको यति लामो समयसम्म आफ्नो पुरानो साझेदार मुलुकको भ्रमण गरेनन् । जबकि उनका पूर्ववर्ती ट्रम्पले पहिलो विदेश भ्रमण साउदी अरबबाट सुरु गरेका थिए ।

बाइडेनको अहिलेको भ्रमण खासमा खशोग्गीको हत्यापछि चिसिएको दुई देशको सम्बन्धलाई सुचारु गर्ने प्रयासको रुपमा हेरिएको छ । युक्रेनमाथि रुसको आक्रमणपछि विश्व बजारमा तेलको मूल्य बढेसँगै सबै चीजको भाउ बढेसँगै अमेरिकाले साउदी अरबको साथ खोजेको छ ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार