दिल्लीकाे मुस्लिम भेलामा सहभागी भएका एक नेपालीमा कोरोना संक्रमण देखियाे



नयाँदिल्ली, २२ चैत । दिल्लीस्थित निजामुद्दिनमा केही दिनअघि सम्पन्न मुस्लिमहरुको धार्मिक भेला ‘जमाती’मा सहभागी भएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
भारतीय स्वास्थ्य अधिकारीहरुका अनुसार भेलामा सहभागी रहेका नेपालको पर्सा जिल्ला निवासी ६६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ, जसमध्ये अधिकांश नयाँ केसहरु सोही मुस्लिम धार्मिक भेलामा सहभागी भएकाहरुसँग सम्बन्धित देखिन्छन् ।

नेपालको पर्सा जिल्ला निवासी ६६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो

कोरोना देखिए ती नेपाली भारतमा लक डाउन हुनुअघि नै हरियाणा पुगेको र त्यहाँ अन्य दश जना सहभागीसहित हरियाणा, अम्बालास्थित महेशनगरको एक मस्जिदमा बस्दै आएका थिए । त्यहाँ पुगेका सबै नेपाली पर्सा जिल्ला मुस्लिम समयुदायका रहेको खुलेको छ ।

सो भेलाका सहभागीमा कोरोना संक्रमण देखिएपछि प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेको थियो । त्यहाँ भेटिएका ८ नेपालीसहित सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो । दुई जना नेपाली र एक श्रीलंकालीलाई कोरोनाको लक्षण देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको र गत बुधबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको प्रहरी स्रोतले बताएको थियो ।

बिहीबार उक्त परीक्षणको रिपोर्ट आएपछि त्यहाँ आइसोलेसनमा राखिएका एक ६६ वर्षीय नेपाली पुरुष (नाम खुलाइएको छैन) मा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ । नमूना परीक्षण गरिएका अर्का नेपालीमा भने कोरोना पोजेटिभ देखिएको छैन ।

सो भेलामा सहभागी भएर फर्किने क्रममा नेपाल भारत सीमा बन्द भइसकेको थियो भने नेपालमा लकडाउन थियो । तर केही दिनअघिसम्म नाका छलेर चोरबाटो हुँदै नेपाल भित्रिएकाहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २२ गते शनिवार