
काठमाडौं । बिहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालमा छैटौं संक्रमित भेटिएको जानकारी दिँदै गर्दा बागलुङका स्वास्थ्यकर्मीले सुइको पाइसकेका थिए । मन्त्रालयले घोषणा नगर्दै छैटौं संक्रमित बाग्लुङकी भएको गाइगुइ चल्न थालिसकेको थियो । पत्रकार सम्मेलन सकिएको आधा घण्टा नबित्दै पुष्टि भएको खबर आयो, ‘छैटौं संक्रमित बांगलुङकी ६५ वर्षीया महिला हुन् । उनी चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी हुन्, सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखियो ।’
मन्त्रालयले संक्रमितको परिचय जानकारी दिनुअघि नै बाग्लुङका स्वास्थ्यकर्मीले सुइको पाउनुको तीन कारण थिए ।
पहिलो, ती वृद्धाको १७ गते नमूना संकलन गरिएको थियो र त्यसको रिपोर्ट बिहीबार आउनेवाला थियो ।
दोस्रो, नमूना संकलन गरेदेखि होम क्वारेन्टाइनमा बसेकी उनी बाग्लुङको पहिलो संक्रमितसँगै घुलमिलमा रहेकी थिइन् ।
तेस्रो, ती महिला कोरोनाको उच्च जोखिम समूहमा रहेकी र दमको बिरामी पनि थिइन् । नियमित औषधि सेवन गरिरहेकी थिइन् ।
नभन्दै बाग्लुङको स्वास्थ्यकर्मीहरुले गरेको आकलन मिल्यो । जिल्ला जनस्वास्थ्य कार्यालयमा ती महिलाको रिपोर्ट कार्ड पुगेपछि ती महिला कुन घरकी थिइन्, उनको घरमा को–को थिए र उनको प्रत्यक्ष सम्पर्कमा को–को थिए भन्नेबारे खोज्न थाले । केही छिनमै ती महिला बसेको घर र उनीहरुको बारेमा थाहा लाग्यो । लगत्तै धवलागिरि अञ्चल अस्पतालमा कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी जिल्ला समन्वय समितिको बैठक बस्यो । बैठकमा घरमै राख्ने की अस्पताल ल्याउने भन्ने विषयमा छलफल भइरहेको थियो । दम रोग लागेकी महिला भएकाले काठमाडौँ या पोखराको विकल्पमा पनि कुरा चलिरहेको थियो ।
केही क्षणको छलफलपछि ती महिलालाई अञ्चलल अस्पतालमै ल्याउने निर्णय गरेर नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स बोलाइयो । अस्पताल अगाडि एम्बुलेन्स रोकिएको थियो । छलफल सकिनै लागेको थियो । त्यही बेला एम्बुलेन्स चालकले कोरोना भएकी महिलालाई अस्पताल ल्याउने सुइको पाए । छलफलपछि एम्बुलेन्समा पुग्दा ती चालक थिएनन् । धेरै समय चालकको खोजी भयो । फोन डायल गरे । त्यहाँ नजिकका मानिसलाई पनि सोधखोज गरियो । तर, एम्बुलेन्स चालक छिनमै सम्पर्कविहीन भए । धवलागिरि अञ्चल अस्पतालको अर्को पनि एम्बुलेन्स थियो । तर, त्यसका चालक पनि त्यहाँ थिएनन् । दुइटै एम्बुलेन्सको चालक वेपत्ता भएपछि बैठकमा उपस्थित भएका स्थानीय प्रशासन र प्रहरीलाई वृद्धालाई अस्पताल ल्याउने काममा सहयोग गर्न भनियो ।
तर, उनीहरु सबै पन्छिए । उनीहरुले यस्तो काममा गृहसँग समन्वय गर्नु पर्ने बताउँदै भने, ‘हामीलाई झन्झट हुन्छ, यो काम तपाईंहरुले नै गर्नुस् ।’ सात बजे अस्पताल ल्याउने भनिएकी ती महिलालाई रातको साढे ९ बज्दा पनि अस्पताल ल्याउने कुनै तरखर गरिएन । कतैबाट उपाय फुरेन । छलफल झन् लम्बिने भयो । उता महिला बसेको घरतिर अर्को डर बढिसकेको थियो । छिमेकी तथा आफन्तहरु अत्तालिन थालेका थिए ।
त्यसपछि छलफलमा रहेका स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौ ती वृद्धालाई अस्पताल ल्याउने काममा अघि सरे । स्वास्थ्य कार्यालयका प्रमुख समेत रहेका उनले आफ्ना सवारी चालक रुद्र पराजुलीलाई एम्बुलेन्स चलाउन आग्रह गरे । आफ्ना चालकलाई डर नहोस् भनेर उनले आफूसँगै हुने आश्वस्त पारे । त्यहाँ भएको साधारण पीपीई गुरौ आफूले पनि लगाए र चालकलाई पनि लगाइदिए । त्यसपछि चालक रुद्रको डर हट्यो । अनि ती महिलालाई लिन एम्बुलेन्स हिँड्यो । उनीहरु दुई जना गएर रातको साढे १० बजेतिर धवलागिरि अञ्चल अस्पतालमा ल्याए । अहिले ती महिलालाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
बाग्लुङका जनस्वास्थ्य प्रमुख गुरौ रातिको घटना सम्झदैँ भन्छन्, ‘बिरामी ल्याउने जिम्मा हाम्रो होइन, तर सब जना भागभाग गरेपछि ल्याउनै पर्यो ।’ सुरजका अनुसार सबै चालकहरु भागेको देखेपछि उनको चालक पनि जान डराएका थिए । बिरामी ल्याउनै पर्ने बाध्यता भएपछि उनले आफू पनि संगै जाने भनेर चालकलाई आश्वस्त पारे । जाने कि नजाने दोधारमा रहेका चालक उनी पनि जाने भएपछि तयार भए । गुरौले भने, ‘मैले मेरो चालकको मनोविज्ञान बुझेर, मसँगै छु केही हुँदैन भनेपछि उनी तयार भए । त्यही भएर म नजाँदा हुने ठाउँमा पनि गएको हुँ ।’ उनका अनुसार ती महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । दमको पुरानो बिरामी भएकाले उनले अहिले नियमित औषधि सेवन गरिरहेकी छिन् । सुरजले भने, ‘अरु आफ्नो कर्तव्यबाट भागेपछि मैले आफ्नो कर्तव्य ठानेर ती महिलालाई उद्धार गरेको हुँ, कुनै बहादुरी देखाएको होइन ।’
१३ जनाको नमूना परीक्षण गरिएको थियो
गत ४ चैतमा कतार एयरको ६५२ उडानबाट नेपाल भित्रिएका १ सय ५२ यात्रुमध्ये ४ जना बागलुङका थिए । त्यसमध्ये २ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पोजेटिभ देखिएको छ । तर अरु दुई जनाको रिपोर्ट भने नेगेटिभ देखिएको छ । जिल्ला जनस्वासथ्य कार्यलय प्रमुख गुरौकाअनुसार २ जना संक्रमित बागलुङ बजार आसपासकै हुन् भने रिपोर्ट नेगेटिभ आएका २ जनामध्ये १ बुर्तिवाङका हुन् । अर्को एक जना भने अहिले पर्वततिर गएका छन् । गुरौले भने, ‘बागलुङमा पहिलो केस भेटिएपछि उनका नजिक भएका १३ जनाको नमूना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये थप १ जनाको पोजेटिभ, बाँकी नेगेटिभ सहित १० जनाको रिपोर्ट आइसकेको छ । अझै ३ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । गुरौले भने, ‘छैटौँ संक्रमितको सम्पर्कमा आएका उनका परिवार र अरुको समेत खोजी गरी नमूना संकलन गर्ने कार्य अघि बढाउन लागिएको छ ।’