साउदी युवराज मोहम्मद बिन सलमान सनकी र हत्यारा हुन्ः पूर्व गुप्तचर प्रमुखको दाबी
एजेन्सी । साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई देशका पूर्व गुप्तचर प्रमुख साद अलजबारीले मनोरोगी (साइको)को संज्ञा दिएका छन् ।
एक अन्तर्वार्तामा साद अलजबारीले भनेका छन्, ‘हामीले यो हत्याराले गरेका अत्याचार र अपराध देखेका छौँ । देशका लागि ठूलो चुनौती बन्न सक्छ ।’ उनले युवराज हत्यारा भएको दाबी गरे ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको साउदी अरब भ्रमण हुनु केही दिनअघि सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘सहानुभूतिबिना एक मनोरोगी हुन् उनी। भावनाहरू महसुस गर्दैनन्। उनले आफ्नो अनुभवबाट कहिल्यै सिकेनन्।’
अल्जबारीले आफ्नो ज्यानलाई खतरा महसुस गर्दै क्यानडा गएका थिए। अलजबारीले वाशिंगटन डीसी अदालतलाई भनेका थिए कि मोहम्मद बिन सलमानले उनलाई मार्न टोरन्टोमा टोली पठाएका थिए।
यसभन्दा दुई साताअघि इस्तानबुलमा साउदी पत्रकार जमला खशोग्गीको हत्या भएको थियो । ‘शाही परिवार र सरकारका बारेमा महत्वपूर्ण जानकारी भएकाले मलाई कुनै दिन मारिन पनि सक्छ,’ उनले भने ।





