इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब केन्द्रबाटै दिन शिक्षक महासंघको माग



काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सम्झौता अनुसार बजेट मार्फत सम्बोधन गरीनु पर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । महासंघले आर्थिक वर्ष २०७९/०८० को बजेटमा शिक्षकहरुका विभिन्न मागहरुलाई सम्बोधन गरीनुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

पत्रमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७८/०७९ को बजेटमा तोकिए बमोजिम विद्यालयका लेखापाल र कार्यालय सहयोगीको र बालकक्षाका शिक्षकको पारिश्रमिक अबको आर्थिक वर्षबाट सङ्घीय सरकारबाटै उपलब्ध गराउन आग्रह गरीएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रबन्ध गरीएको सुविधा सहितको १० दिने पर्यटन काज, दुर्घटना बिमा तथा स्वस्थ्य सुरक्षा विमा विद्यालयका शिक्षक कर्मचारीको हकमा समेत लागु हुने प्रबन्ध गर्न ध्यानाकर्षण गराइएको छ ।

महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्र मार्फत शिक्षक अस्पतालको लागि आवश्यक बजेट प्रबन्ध गर्न, शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत लगानी प्रबन्ध गर्न र शिक्षक कर्मचारीको समायोचित तलब बृद्धि गर्न भनिएकोे छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार