दाङमा ७५ पूर्णाङ्कको परीक्षामा ९३ अंकको प्रश्नपत्र



दाङ । माध्यामिक तहको शिक्षासम्मको अधिकार पाएका स्थानीय सरकारहरुले एसईई भन्दा तल्लो तहसम्मको परीक्षा सञ्चालन गर्दे आएका छन् । पहिले जिल्लाले गर्ने जिल्ला स्तरीय परीक्षा अहिले स्थानीय सरकारले गराउँदै आएका छन् । जिल्ला स्तरीय परीक्षाको रुपमा रहेको कक्षा आठको परीक्षा सञ्चालनमा भने स्थानीय सरकारहरु चुकेका छन् । उनीहरु प्रश्नपत्र निर्माणमै चुकेका हुन् ।

दाङका दुई उपमहानगरपालिका तुलसीपुर र घोराहीका शिक्षा शाखाहरुले प्रश्नपत्र निर्माणमा गम्भीर लापरवाही गर्दा विद्यार्थीहरु मर्कामा परेका छन् । उमहानगरको शिक्षा शाखाले तयार गरेको कक्षा आठको विभिन्न विषयको प्रश्नपत्रमा नेपालीबाट सोधिएको प्रश्न र अंग्रेजीबाट सोधिएको प्रश्न फरक फरक हुँदा विद्यार्थीहरु अन्यौलमा छन् ।

तुलसीपुर उपमहानगरपालिकाले तयार परेको सामाजिक शिक्षाको प्रश्न पत्रमा अर्को लापरबाही देखिएको छ । ७५ पूर्णाङकको सामाजिक शिक्षाको परीक्षामा विद्यार्थीलाई ९३ पूर्णाङकको परीक्षा गराइएको छ । त्यसमा पनि संविधानसंग सम्बन्धित प्रश्नमा नेपालीमा एउटा र अग्रेजीमा अर्कै अर्थ लाग्ने प्रश्न राखिएको छ ।

घोराही उपमहानगरपालिकाको शिक्षा शाखाले तयार पारेको जनसंख्या शिक्षाको कक्षा ८को प्रश्नपत्रमा पनि गल्ती पाइएको छ । नेपालीमा लागुऔषध सम्बन्धि प्रश्न सोधिएको छ भने अंग्रेजीमा वायुप्रदुषणको विषय राखिएको छ । यस्ता प्रश्नले विद्यार्थीहरुलाई दोधारमा परोको र प्रश्नपत्र निर्माणमा देखिएको यो लापरवाहीले शिक्षकलाई उत्तर पुस्तिका परीक्षणमा समेत समस्या हुने देखिएको शिक्षकहरुले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले प्राविधिक कारणले प्रश्नपत्रमा केही गल्ती भएको स्वीकार गरे । आगामी दिनमा यस्ता गल्तीहरुलाई सुधार गरेर लैजाने उनले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार