काठमाडौं । लामो समयपछि खुलेको शिक्षक सेवा आयोगले तिनै तहका परीक्षाहरू सम्पन्न गरेको छ। चैत्र १५, १७ र १९ गते सम्पन्न माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षा सम्पन्न गरेको आयोग यतिबेला प्रथम पत्रको नतिजा प्रकाशन गर्ने तयारीमा रहेको छ। दोस्रो पत्रको तयारी गरिरहेका सबै परीक्षार्थीहरूलाई नतिजा कहिले प्रकाशित गर्छ भन्ने कौतुहलता छ।
आयोगले चैत २८ गते सार्वजनिक गरेको एउटा सूचनामा छिटै नतिजा प्रकाशन गर्ने तयारीमा रहेको जनाएको छ। परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नको लागि परीक्षा समन्वय समिति, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई, सामुदायिक तथा संस्थागत विद्यालय, क्याम्पस लगायत परीक्षामा खटिने सुरक्षाकर्मी, कर्मचारी एवम् प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुने सम्बद्ध सबैलाई धन्यवाद दिन आयोगले जारी गरेको सूचनामा सो कुरा उल्लेख छ।
सूचनामार्फत आयोगले परीक्षाको मूल्य, मान्यतालाई आत्मसात् गरी निष्पक्ष, वस्तुनिष्ठ, स्वच्छ र विश्वसनीय ढङ्गबाट कार्यसम्पादन गर्दै आएको जनाएको छ। त्यस्तै भविष्यमा पनि यसमा अझ सुधार गर्दै आफ्ना काम कारवाहीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
भर्खरै सञ्चालन भएका परीक्षाका विषयमा विभिन्न किसिमका प्रतिक्रियाहरू आएको विषयलाई गम्भीरतापूर्वक लिएको भन्दै आयोगले प्राप्त रचनात्मक प्रतिक्रियालाई सुझावको रूपमा ग्रहण गरेको भए पनि परीक्षाको सम्बन्धमा सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चार माध्यममा प्रकाशित तथ्यहीन एवम् भ्रामक प्रतिक्रिया र समाचारप्रति आयोग दुःख व्यक्त गरेको जनाएको छ।
नतिजा सम्बन्धमा सूचनामा आयोगले लेखेको छ, “परीक्षा सञ्चालन पछिका नतिजा प्रकाशन तथा सिफारिससम्मका कार्यलाई जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आवश्यक कार्यहरू सुरु गरिएको छ । यस विषयमा कहीँ कतै र कसैबाट आयोगलाई लाञ्छित गरी भ्रामक अफवाह फैलाउने र परीक्षार्थीहरूलाई विभिन्न प्रलोभनमा पारी नाजायज फाइदा लिन खोज्नेहरूप्रति कसैले पनि विश्वास नगर्न र यस प्रकारका दुश्चेष्टाहरूको पछि नलाग्न सम्बन्धित पक्षलाई अनुरोध समेत गरिएको छ । यस्ता अमर्यादित कार्य हुन लागेको वा भएको कुरा थाहा पाउने व्यक्तिहरूले समयमै आयोगलाई जानकारी गराई परीक्षाको निष्पक्षता र विश्वसनीयता कायम राख्न योगदान पुर्याउनु हुन समेत आयोग सबैमा अनुरोध गर्दछ” ।
आयोगले भनेअनुसार कुनै अवरोध नआई काम भयो भने छिटै नतिजा प्रकाशन हुने देखिन्छ।






